रौतहट, २६ असार । रौतहटको गरुडा नगरपालिकामा आर्थिक वर्षको अन्तिम समयमा कार्यालय भन्दा बाहिरबाट करोडौं रुपैयाँको भुक्तानी प्रक्रिया सञ्चालन गरिएको आरोप सार्वजनिक भएपछि नगरपालिकाको कार्यशैलीमाथि गम्भीर प्रश्न उठेको छ ।
स्थानीय बासिन्दाहरु यस घटनालाई सुशासन, पारदर्शिता र सार्वजनिक उत्तरदायित्वको मर्म विपरीत भएको भन्दै निष्पक्ष छानबिनको माग गरेको हो ।
असार २४ र २५ गते राति आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा ताला लागेको अवस्थामा प्रमुख प्रशासकीय अधिकृत निलमकुमार न्यौपाने, लेखापाल राजनारायण यादव, मेयर कन्थमणी प्रसाद कलवार, वडाध्यक्षहरू तथा अन्य कर्मचारीले गरुडा नगरपालिकाको कार्यालयमा नभई दुर्गा भगवती गाउँपालिका–३ मत्सरी स्थित एक कर्मचारीको घरबाट भुक्तानी सम्बन्धी काम सम्पन्न गरेका थिए ।
आर्थिक वर्ष समाप्त भएसँगै राति ११ः५९ बजेपछि सम्बन्धित सफ्टवेयर बन्द हुने भएकाले उक्त स्थानबाट हतारमा आर्थिक कारोबार गरिएको दाबी गरिएको छ ।
स्थानीय स्रोतका अनुसार उक्त गतिविधि सुरक्षाकर्मी र स्थानीय प्रशासनको संरक्षणमा भएको बताइएको छ । यसरी सरकारी कार्यालय भन्दा बाहिर बसेर सार्वजनिक आर्थिक कारोबार गर्नु कानुनी र प्रशासनिक रूपमा कति उचित हो भन्ने विषयमा अहिले व्यापक बहस सुरु भएको छ ।
घटना प्रति स्थानीयवासीले नगरप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, लेखापाल तथा सम्बन्धित जनप्रतिनिधिहरू माथि निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् । उनीहरूले सार्वजनिक आर्थिक अनुशासन र सुशासनमाथि प्रश्न उठ्ने गरी भएको यस घटनाको सत्यतथ्य बाहिर ल्याउन सम्बन्धित निकायसँग आग्रह गरेका हुन् ।
यस विषयमा गरुडा नगरपालिकाका नगरप्रमुख कलबारले पनि नगरपालिका कार्यालय बाहिरबाट काम भइरहेको प्रति आफू असन्तुष्ट रहेको बताए । यद्यपि आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रक्रिया टुंग्याउने दबाबका कारण यस्तो अवस्था सिर्जना भएको घुमाउरो रुपमा स्वीकारे ।
यस घटनाले स्थानीय तहमा सुशासन, पारदर्शिता र सार्वजनिक वित्तीय अनुशासनको अवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन