रौतहट, २९ असार । मिटरब्याजबाट पीडित नागरिकहरूले आफ्ना जायज माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गर्दै रौतहटको चन्द्रपुरमा कोणसभा मार्फत आन्दोलनलाई थप सशक्त बनाएका छन् ।
जनकपुरदेखि काठमाडौं सम्म ६ बुँदे माग राखेर पैदल यात्रा गरिरहेका पीडितहरूले राज्यले आफूहरूको आवाज नसुने आन्दोलन अझ सशक्त बनाइने चेतावनी दिएका हुन् ।
कोणसभालाई सम्बोधन गर्दै आन्दोलन समितिका अध्यक्ष अबधेश कुशवाहाले “राज्य हाम्रो पीडा सुन्न तयार छैन, त्यसैले सबै पीडित नागरिकहरु एकजुट भएर आन्दोलनमा सहभागी हुनुपर्छ” भन्दै व्यापक ऐक्यबद्धताको लागि आह्वान गरे । मिटरब्याजका नाममा वर्षौंदेखि भइरहेको आर्थिक शोषण र अन्याय अन्त्यका लागि सडक संघर्ष नै अन्तिम विकल्प बनेको बताए ।
कुशवाहाले प्रतिकूल मौसम, निरन्तर वर्षा र शारीरिक कठिनाइका बाबजुद न्यायको खोजीमा हामीहरू जनकपुरदेखि काठमाडौं सम्म पैदल यात्रा गरिरहेका छौं । यात्रामा ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक समेत सहभागी हुनु आन्दोलनप्रतिको दृढ संकल्पको उदाहरण भएको उनको कथन छ ।
कोणसभामा सहभागीहरूले “दलालहरू होशियार”, “अवैध तमसुक खारेज गर”, “मिटरब्याज पीडितलाई न्याय दे”, “लुटिएको सम्पत्ति फिर्ता गर” लगायतका नारा लगाउँदै सरकार माथि तत्काल प्रभावकारी कदम चाल्न दबाब दिए ।
पीडितहरूले सरकारसमक्ष पेश गरेको ६ बुँदे मागमा मिटरब्याजसँग सम्बन्धित अवैध तमसुक तथा अन्य कागजात खारेज गर्ने, विशेष आयोग र विशेष न्यायाधिकरण गठन गर्ने, पीडितको कब्जा गरिएको सम्पत्ति फिर्ता गराउने, दोषीमाथि कडा कारबाही गर्ने तथा पीडितहरूको आर्थिक पुनस्र्थापनाको व्यवस्था गर्नुपर्ने माग समेटिएका छन् ।
आन्दोलनकारीहरू सरकारले विगतमा गरेका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन नभएसम्म आन्दोलन कुनै पनि हालतमा नरोकिने स्पष्ट पारे । पीडितहरु भन्छन “हामी दया माग्न होइन, संविधानले दिएको न्यायको अधिकार खोज्न सडकमा उत्रिएका हौँ । अब आश्वासनले होइन, ठोस निर्णयले मात्रै आन्दोलन रोकिन्छ ।”
पीडितहरुको न्याय मार्च चन्द्रपुरबाट प्रस्थान गर्दै वारा तर्फ लागेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन