अनुदानको रकम किसानको खातामा पठाउनुपर्ने माग राख्दै बुधवार राति जिल्ला प्रशासन कार्यालय रौतहट गौरमा धर्नामा प्रदर्शनमा बसेका उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादव सहितका किसानहरु ।
रौतहट, ३२ असार । रौतहटका उखु किसानले पाउनुपर्ने ७ करोड रुपैयाँभन्दा बढी अनुदान रकम वितरणमा ढिलाइ हुँदा उक्त बजेट फ्रिज हुने जोखिम बढेको भन्दै किसानहरूले प्रशासनविरुद्ध चर्को आन्दोलन थालेका छन् ।
उखु किसानहरूले सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्रकुमार यादवको लापरवाही र उदासीनताका कारण सरकारबाट निकासा भएको रकम समेत वितरण हुन नसकेको आरोप लगाएका हुन् ।
नेपाल सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने निर्णयअनुसार करिब साढे चार हजार किसानको नाममा ७ करोडभन्दा बढी रकम जिल्ला कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) मा आएको करिब १५ दिन बितिसकेको छ । तर, अनुदान वितरणको जिम्मेवारी पाएको समितिबाट आवश्यक प्रक्रिया अघि नबढाउँदा किसानले अझै रकम पाउन सकेका छैनन् ।
सरकारले सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा कोलेनिका, कर कार्यालय र कृषि ज्ञान केन्द्रका प्रतिनिधि सदस्य रहने चार सदस्यीय समिति गठन गरेको छ । किसानहरूले आवश्यक कागजात बुझाइसकेको र रकम समेत निकासा भइसकेको अवस्थामा समितिले रकम किसानको बैंक खातामा पठाउन चासो नदेखाएको आरोप किसानहरुले लगाए ।
अनुदान वितरणमा भएको ढिलाइको विरोधमा उखु किसान संघ रौतहटका जिल्ला अध्यक्ष अशोक यादवको नेतृत्वमा किसानहरूले जिल्ला प्रशासन कार्यालय गौरमा बुधवार राति १० बजे सम्म धर्ना दिएका थिए । त्यसपछि गौर–चन्द्रपुर सडकखण्ड अन्तर्गत झाझ पुलमा टायर बालेर सडक अवरुद्ध गर्दै प्रदर्शन समेत गरेको थियो ।
आन्दोलनका बाबजुद पनि समस्या समाधानतर्फ कुनै ठोस पहल नभएको भन्दै किसानहरू आक्रोशित भई सहायक प्रमुख जिल्ला अधिकारी विरुद्ध आज चर्को प्रदर्शन गर्ने समेत जिल्ला अध्यक्ष यादले त्यसबाट हुने असहज परिस्थितिको जिम्मेवार स्वंयम सहायक प्रजिअ हुने चेतावनी समेत दिए । यदी किसानको रकम फ्रिज भयो भने सहायक प्रजिअलाई समेत यहाँबाट फ्रिज गरेर पठाउने सम्मको असन्तुष्टि व्यक्त गरे ।
यता प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले अनुदान वितरणको अधिकार सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठित समितिलाई मात्रै भएकाले आफूले प्रत्यक्ष रुपमा हस्तक्षेप गर्न नमिल्ने बताए । उनले पटक–पटक समन्वय र छलफल गरिए पनि सहमति जुट्न नसकेको उल्लेख गर्दै मन्त्रालयसँग समेत समन्वय गरी समस्या समाधानका लागि पहल भइरहेको जानकारी दिए ।
“आज दिउँसो सम्म केही सकारात्मक निष्कर्ष निस्किन्छ कि भन्ने आशा गरौं, त्यसका लागि केही समय पर्खनुपर्छ,” प्रमुख जिल्ला अधिकारी भुसालले बताए ।
सहायक प्रजिअको बदमाशीको कारण अनुदानको रकम पाउन नसकेपछि गौर चन्द्रपुर सडक खण्डको झाझ पुलमा टायर बालेर बुधवार राति प्रदर्शन गर्दै किसानहरु ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन