रौतहट, ३ साउन । जिल्ला प्रशासन कार्यालय रौतहटले आगामी दुई दिन जिल्लामा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानलाई मध्यनजर गर्दै सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन अपिल जारी गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण तथा जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार हिजो र आज मनसुन अत्यधिक सक्रिय हुने भएकाले रौतहट सहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेको प्रशासनले अपिल जारी गर्दै नदी खोला आसपास नजान आग्रह गरेको हो ।
प्रशासनले जारी गरेको जरुरी सूचनामा लालबकैया, बागमती, झाँझ खोला लगायत नदी तथा खोलाको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सुरक्षित स्थानमा बस्न, सतर्क रहन र नदी–खोला आसपास अनावश्यक रूपमा नजान आग्रह गरिएको छ । बाढीको जोखिमलाई ध्यानमा राख्दै बालबालिकालाई पनि नदी तथा खोलातर्फ जान नदिन अनुरोध गरिएको छ ।
यस्तै अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन, लामो यात्रा नगर्न तथा स्थानीय तह र सम्बन्धित निकायलाई जेसीभी, दमकल, एम्बुलेन्स, उद्धार सामग्री, खाद्य तथा गैरखाद्य सामग्री तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ ।
प्रशासनले मौसमसम्बन्धी आधिकारिक पूर्वसूचना नियमित रूपमा पालना गर्न तथा कुनै विपद् वा आपत्कालीन अवस्था आएमा डिइओसी ११४४, नेपाल प्रहरी १००, सशस्त्र प्रहरी १११४, नेपाली सेना तथा स्थानीय प्रशासनसँग तत्काल सम्पर्क गर्न सबैमा आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन