रौतहट–मोतिहारी, ३ साउन । भारत–नेपाल सीमामा तस्करी नियन्त्रण अभियानलाई तीव्र बनाएको सशस्त्र सीमा बल (एसएसबी) ले रौतहटबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको ठूलो परिमाणको नेपाली मदिरा बरामद गर्दै दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
दुई छुट्टाछुट्टै अपरेशनमा ८५२ बोतल (२५५.६ लिटर) कस्तुरी ब्रान्डको नेपाली मदिरा, तीन वटा मोटरसाइकल सहित बरामद गरिएको छ भने एउटा अपरेशनमा मदिरा ओसार्ने भरिया फरार भएको जनाइएको हो ।
एसएसबी ७१ बटालियन मोतिहारीका अनुसार प्राप्त सूचनाका आधारमा ’एफ’ कम्पनी अठमुहान र मोतिहारी एक्साइज विभागको संयुक्त टोलीले सीमा स्तम्भ नम्बर ३५८–५ नजिक सैनिक रोड क्षेत्रमा छापा मार्दा ४०२ बोतल (१२०.६ लिटर) कस्तुरी मदिरा र एउटा हिरो स्प्लेन्डर मोटरसाइकल बेवारिसे अवस्थामा बरामद गरेको जनाए ।
सुरक्षा टोलीलाई देख्नासाथ तस्कर भरियाहरु फरार भएको र प्रारम्भिक अनुसन्धानबाट उक्त मदिरा रौतहटको मठिया क्षेत्रबाट भारत तर्फ तस्करी गरिएको खुलेको एसएसबीले जनाए । बरामद मदिरा र मोटरसाइकल थप अनुसन्धानका लागि मोतिहारी एक्साइज कार्यालयमा बुझाइएको छ ।
यस्तै अर्को अपरेशनमा एसएसबीको ’सी’ कम्पनी, बीओपी नायकटोला र बिहार प्रहरीको हरपुर प्रहरी चौकीको संयुक्त टोलीले भारतको टोला चिकनी क्षेत्रमा विशेष चेकजाँच सञ्चालन गरेको थियो ।
सीमा स्तम्भ नम्बर ३८७–२ बाट करिब ३.६ किलोमिटर भारततर्फ गरिएको चेकजाँचका क्रममा नेपालबाट मदिरा बोकेर जाँदै गरेका पश्चिम चम्पारणको करमवा गाउँका ४० वर्षीय जयप्रकाश र ३३ वर्षीय अनिल कुमार पक्राउ परेका छन् ।
उनीहरूको साथबाट ४५० बोतल (१३५ लिटर) कस्तुरी नेपाली मदिरा, बीआर–२२ बीई–४५५० नम्बरको हिरो स्प्लेन्डर मोटरसाइकल र ना ९ प ६१५८ नम्बरको होन्डा शाइन मोटरसाइकल बरामद गरिएको छ ।
प्रारम्भिक अनुसन्धानअनुसार उक्त मदिरा नेपालबाट भारतको करमवा बजारतर्फ तस्करी भइरहेको खुलेको एसएसबीले जनाए । बरामद मदिरा, मोटरसाइकल तथा पक्राउ परेका दुवै व्यक्तिलाई आवश्यक कानुनी कारबाहीका लागि हरपुर प्रहरी चौकीमा बुझाइएको छ ।
सीमाक्षेत्रमा मदिरा तस्करीका घटनाहरू बढ्दै गएपछि एसएसबीले नेपाल–भारत सीमामा निगरानी र संयुक्त सुरक्षा अभियानलाई अझ कडा बनाएको जनाए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन