नयाँ दिल्ली, ६ साउन । निट परीक्षाको प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर भारतमा जारी आन्दोलन थप चर्किएको छ ।
‘ककरोच जनता पार्टी’ (सीजेपी) ले आफ्ना माग पूरा नभए दिल्लीमा अझ ठूलो जनप्रदर्शन गर्ने चेतावनी दिएपछि भने राजधानीमा सुरक्षा व्यवस्था कडा पारिँदै थप सीआरपीएफ (सीआरपीएफ) कम्पनी परिचालन गरिएको हो ।
बुधबार जन्तर–मन्तरमा जारी धर्नामा हजारौं प्रदर्शनकारी सहभागी भइरहेका छन् । सीजेपीले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामा, परीक्षा प्रणालीमा सुधार तथा प्रश्नपत्र चुहावट प्रकरणमा निष्पक्ष छानबिनको माग गर्दै आन्दोलन जारी राखेको छ । पार्टीका संस्थापक अभिजित दिपकेले सरकार माग पूरा गर्न तयार नभए “दिल्लीमा थप लाखौं मानिस उतार्ने“ चेतावनी दिए ।
यसैबीच २५ दिनदेखि आमरण अनशनमा रहेका अभियन्ता सोनम वाङचुकलाई पनि सीजेपी नेतृत्वले अनशन अन्त्य गर्न आग्रह गरेको छ । यद्यपि आन्दोलनका माग पूरा नभए सम्म विरोध प्रदर्शन नरोकिने उनीहरूको अडान छ ।
गत जुलाई २० मा आयोजित ‘चलो संसद’ मार्चसँग सम्बन्धित घटनामा दिल्लीका पाँच प्रहरी चौकीमा हालसम्म १० वटा एफआईआर दर्ता गरेका छन् ।
उता केन्द्रीय रक्षामन्त्री राजनाथ सिंहले विपक्षी दलहरूमाथि देशका युवालाई “राजनीतिक हतियार“ का रूपमा प्रयोग गरेको आरोप लगाए । उनले आन्दोलनलाई कृत्रिम रूपमा उचालिएको भन्दै सरकारविरुद्ध राजनीतिक स्वार्थका लागि प्रयोग गरिएको दाबी गरे ।
राजधानी दिल्लीमा आन्दोलन, विभिन्न राजनीतिक प्रदर्शन र संसदको मनसुन अधिवेशनलाई ध्यानमा राख्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । अधिकारीहरूका अनुसार कोलकाताबाट २० कम्पनी सीआरपीएफलाई हवाई मार्ग मार्फत दिल्लीमा तैनाथ गरिँदैछ ।
यसैबीच दिल्ली उच्च अदालतको आदेशपछि गुरुग्राम स्थित मेदान्ता अस्पतालमा उपचाररत तथा अनशनरत सोनम वाङचुकलाई केन्द्रीय मन्त्री जे.पी. नड्डा र डा. जितेन्द्र सिंहले भेटेका छन् । उनीहरूले आन्दोलन शान्तिपूर्ण रूपमा समाधान गर्न आग्रह गर्दै सरकारले संसदमा निट प्रश्नपत्र चुहावट प्रकरण माथि छलफल गर्न तयार रहेको जानकारी दिए ।
संसदीय मामिला मन्त्री किरेन रिजिजुले पनि लोकसभामा सरकारले निट प्रश्नपत्र चुहावट प्रकरणबारे औपचारिक छलफल गर्न सहमति जनाए । यससँगै आन्दोलन र सरकारबीच संवादको सम्भावना बढे पनि आन्दोलनकारीहरूले माग पूरा नभएसम्म आन्दोलन नरोकिने स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन