रौतहट, ६ साउन । रुइट फाउन्डेसनको सहयोग तथा नेपाल नेत्र ज्योति संघद्वारा सञ्चालित गौर आँखा अस्पतालको नमुनायुक्त महाअभियान प्रभावकारी बन्दै गएको छ ।
महाअभियान अन्तर्गत बौधीमाई नगरपालिका–८ स्थित स्वास्थ्य चौकी, सरमुजवामा आयोजना गरिएको बृहत् निःशुल्क आँखा शिविरबाट सयौं स्थानीय लाभान्वित भएको जनाएको हो ।
अस्पतालका अनुसार नेत्र अधिकृत शिवकुमार यादवको नेतृत्वमा खटिएको सात सदस्यीय प्राविधिक टोलीले शिविरमा २१३ जनाको निःशुल्क आँखा परीक्षण गरी आवश्यक परामर्श सेवा प्रदान गरे । परीक्षणका क्रममा ३९ जना बिरामीमा मोतियाबिन्दु पहिचान भएपछि उनीहरूलाई शल्यक्रियाका लागि छनोट गरिएको छ ।
अस्पतालले छनोट भएका सबै बिरामीको निःशुल्क शल्यक्रिया, आउने–जाने यातायात तथा सम्पूर्ण उपचार खर्च आफ्नै व्यवस्थापनमा गर्ने जनाए ।
यसैबीच, गौर आँखा अस्पतालको नमुनायुक्त महाअभियानलाई निरन्तरता यही साउन ९ गते (शनिबार) रौतहटको बृन्दावन नगरपालिका–२, विश्रामपुर स्थित विवाह मण्डपमा विशेष सेवा–सुविधासहित अर्को बृहत् निःशुल्क आँखा शिविर सञ्चालन गरिने अस्पतालका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिए ।
अस्पतालले आँखासम्बन्धी समस्या भएका स्थानीय बासिन्दालाई समयमै स्वास्थ्य परीक्षण गराई निःशुल्क सेवाको लाभ लिन आग्रह गरेको छ । साथै, महाअभियानलाई अझ प्रभावकारी र सफल बनाउन जनप्रतिनिधि, सामाजिक संघ–संस्था, सञ्चारमाध्यम तथा स्थानीय समुदायको सक्रिय सहभागिता र सहकार्य आवश्यक रहेको अभियान संयोजक पाण्डेले बताए ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन