रौतहट, ८ साउन । नेपाल–भारत सीमामा तस्करी नियन्त्रणको जिम्मेवारी पाएका सुरक्षा निकायकै एक अधिकारीमाथि कथित रूपमा तस्करसँग मिलेमतो गरेको आरोप लागेपछि रौतहटको सीमा सुरक्षा फेरी विवादमा तानिएको छ ।
बीओपी सरमुजवाका इन्स्पेक्टर गणेश बोहरा र एक कथित तस्करबीच भएको भनिएको संवादको अडियो सामाजिक भएपछि तराई टप अनलाईनमा समाचार प्रकाशन भएपछि अनुसन्धानको शिलशिलामा उनलाई सशस्त्र प्रहरीको छिन्नमस्ता बाहिनी बर्दिबासमा तानिएको हो ।
अडियो सार्वजनिक भएसँगै स्थानीयवासीले घटनाको निष्पक्ष छानबिन, अडियोको फरेन्सिक परीक्षण तथा सत्यतथ्य सार्वजनिक गर्न माग गरेका थिए । सुरक्षा स्रोतका अनुसार घटनापछि इन्स्पेक्टर बोहरालाई छिन्नमस्ता बाहिनी तानेर अनुसन्धान सुरु गरिएको छ ।
छिन्नमस्ता बाहिनीका प्रमुख डीआईजी विष्णुप्रसाद भट्टले सीमामा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राख्दै शंकास्पद गतिविधिमा संलग्न कर्मचारीमाथि कठोर कारबाही गर्ने नीति अपनाएको बताइएको छ । सोही नीतिअनुसार बोहरामाथिको अनुसन्धान अघि बढाइएको सुरक्षा स्रोतको दाबी छ ।
स्थानीय व्यापारी र सर्वसाधारणका अनुसार व्यक्तिगत प्रयोजनका लागि ल्याइने सामान्य सामानमा कडा जाँच हुने गरे पनि संगठित तस्करी गर्ने गिरोह भने अझै सक्रिय छन् । बंकुल, रामपुरखाप, सरमुजवा लगायतका सीमावर्ती नाकाबाट रातिको समयमा कपडा, किराना, मदिरा, कस्मेटिक तथा हार्डवेयर सामग्री अवैध रूपमा नेपाल भित्रिने क्रम नरोकिएको उनीहरूको आरोप छ ।
स्थानीय व्यवसायीहरूका अनुसार सुरक्षा निकायभित्रको कथित साँठगाँठकै कारण राज्यले ठूलो परिमाणमा राजस्व गुमाइरहेको छ । सीमामा प्रभावकारी निगरानी र जवाफदेहिता कमजोर हुँदा तस्करी नियन्त्रणको सरकारी दाबी व्यवहारमा प्रभावकारी देखिन नसकेको उनीहरूको भनाइ छ ।
जिल्ला भन्सार कार्यालय गौरका तथ्यांक अनुसार आर्थिक वर्ष २०८२–८३ मा सशस्त्र प्रहरी बल नम्बर–११ गण रौतहटले ४ करोड ५ लाख १९ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार बुझाएको छ । सोही अवधिमा नेपाल प्रहरीले ५ करोड ५५ लाख १८ हजार रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान नियन्त्रणमा लिएर भन्सार कार्यालय बुझाएको तथ्यांक सार्वजनिक भएको छ । यसै तथ्यांकलाई आधार बनाउँदै केही स्थानीयले सशस्त्र प्रहरीको कार्यसम्पादन माथि पनि प्रश्न उठाए ।
रौतहटमा तस्करी नियन्त्रणका लागि नम्बर–११ गण मुख्यालय, प्रस्तावित भन्सार गुल्म गौर, चारवटा बोर्डर आउट पोस्ट (बीओपी) र आठवटा सीमा सुरक्षा पोस्ट सञ्चालनमा छन् । यति ठूलो सुरक्षा संरचना हुँदाहुँदै पनि तस्करी र राजस्व चुहावट नियन्त्रण हुन नसक्नुले सुरक्षा रणनीतिको प्रभावकारिता माथि प्रश्न उठाएको स्थानीयको भनाइ छ ।
अडियो सार्वजनिक भएपछि शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल, सशस्त्र प्रहरीका एसपी रामहरी अधिकारी सहितको टोली बङ्कुल बजार पुगेर व्यापारी तथा स्थानीयसँग छलफल गरेको थियो । छलफलका क्रममा स्थानीयले इन्स्पेक्टर बोहराको कार्यशैलीबारे गुनासा राख्दै “सरुवा मात्र होइन, दोषी प्रमाणित भए कानुनी कारबाही हुनुपर्छ“ भन्ने माग उठाए ।
यसअघि पनि सीमामा बढ्दो गुनासा र आचरण विपरीतका गतिविधिबारे प्रश्न उठेपछि प्रहरी प्रधान कार्यालयले असारको अन्तिम साता रौतहटका विभिन्न युनिटका इन्चार्ज सहित ४८ जना प्रहरी कर्मचारीको सरुवा गरेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन