रौतहट, ९ साउन । पाँच वर्षीया बालिका माथि जबर्जस्ती करणी गरी हत्या गरेको जघन्य अपराधमा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय फैसला सदर भई कारागारमा कैद भुक्तान गरिरहेका अभियुक्त प्रभु माझी फरार भएको झण्डै एक वर्षपछि पुनः पक्राउ परेका छन् ।
रौतहट जिल्लाको साविक बगही–६ (हाल कटहरिया नगरपालिका–७) का ३० वर्षीय माझी २०८२ भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा कारागार कार्यालय गौरबाट फरार भएका थिए ।
फरार भएपछि माझी लुकीछिपी बस्दै आएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट तथा इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले खोजतलास गर्ने क्रममा शुक्रवार राति ११ः३० बजेको समयमा कटहरिया–७ बगहीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गौरले जनाए ।
प्रहरीका अनुसार माझीले २०६८ फागुन २५ गते कटहरिया–७ स्थित वीरेन्द्र चौधरीको पोखरीको डिलमा पाँच वर्षीया बालिका संग जबर्जस्ती करणी गरी हत्या गरेका थिए । उक्त घटनामा सर्वोच्च अदालतले समेत २० वर्ष कैद सजायको फैसला सदर गरेपछि उनी कारागार कार्यालय गौरमा कैद भुक्तान गरिरहेको थियो ।
जेन–जी आन्दोलनको क्रममा गौर कारागारबाट कैदीहरु फरार हुने क्रममा उनी पनि भागेर एक बर्ष सम्म लुक्दै आएको भएपनि अन्ततः निजलाई समात्न सफल भएको जिल्ला प्रहरी कार्यालय गौरका सूचना अधिकारी एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
पक्राउ परेका माझीलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर बाँकी कैद भुक्तानका लागि कारागार कार्यालय गौरको जिम्मा लगाइएको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन