बलराका डिलरमाथि कालोबजारीको गम्भीर आरोप, नेपाली सिलिण्डर भारतीय बजारमा पुगेपछि प्रशासनको अनुगमनमाथि प्रश्न
सर्लाही, २४ साउन । मध्यपूर्वमा जारी असहज परिस्थितिको असरले नेपालमा एलपी ग्यासको आपूर्ति प्रभावित भइरहेका बेला सर्लाहीमा भने नेपाली उपभोक्ताले ग्यास नपाउने तर त्यही ग्यास सीमावर्ती भारतीय बजारमा पुग्ने गरेको तथ्य सार्वजनिक भएको छ ।
सर्लाहीको बलरा नगरपालिकासँग जोडिएको भारतीय सीमावर्ती क्षेत्र बिहारको सीतामढी जिल्ला अन्तर्गत मेजरगञ्ज प्रखण्डको बसबिटा बजार स्थित शुकेश्वर महादेव स्थानलमा लाग्ने मेलामा नेपाली ब्रान्डको ‘सहारा’ एलपी ग्यास प्रयोग भइरहेको अवस्थामा फेला परेको हो ।
बसबिटा बजारमा भुजा–चप, कचरी लगायतका परिकार बिक्री गर्ने पसलमा नेपाली ग्यासको सिलिण्डर राखेर खाना पकाइरहेको दृश्य तराई टपको क्यामेरामा कैद भएपछि नेपाली ग्यास भारतीय बजारसम्म कसरी पुगिरहेको छ भन्ने गम्भीर प्रश्न उठेको छ ।
बलरा नगरपालिका–३ र ४ का स्थानीय बासिन्दाहरू ग्यास खभाव खेपीरहेको भएपनि त्यही ग्यास भारतीय बजारमा बिक्री भइरहेको आरोप लगाए ।
स्थानीयका अनुसार गाउँमै रहेका पसलहरुमा विक्री हुने सहारा ग्यास नपाएपछि वडा नम्बर ११ स्थित छतौना सहित विभिन्न स्थानबाट ग्यास लिनुपर्ने बाध्यता छ । स्थानीयले नेपाली उपभोक्तालाई अभाव देखाएर भारतीय ग्राहकलाई बढी मूल्यमा ग्यास बिक्री गरी कालोबजारी भइरहेको गम्भीर आरोप लगाए ।
यद्यपि बलरा नगरपालिका–३ र ४ का जनतालाई सहारा ग्यासका नरहरगञ्जमा रहेका डिलर वीरेन्द्र दासले अभावका बीच पनि आफूले महिनामा दुईपटक ग्यास वितरण गर्दै आएको दाबी गरे । भारतीय बजारमा ग्यास कसरी पुग्यो त्यसको अनुसन्धान हुनुपर्ने उनले बताए ।
नेपाली उपभोक्ताका लागि वितरण हुने भनिएको सहारा ग्यासको सिलिण्डर सीमापारि बसबिटा बजारमा कसरी पुग्यो भन्ने प्रश्न थप गम्भीर बनेको छ ।
एलपी ग्यासको अभावका कारण नेपाली उपभोक्ता लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भइरहेका बेला नेपाली ग्यास भारतीय बजारमा प्रयोग भएको भेटिनुले आपूर्ति प्रणाली, डिलरको वितरण प्रक्रिया र सीमावर्ती क्षेत्रमा भइरहेको सम्भावित कालोबजारी माथि स्थानीय प्रशासनले तत्काल छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ ।
स्थानीयवासीले ग्यासको वास्तविक मौज्दात, डिलरले वितरण गरेको परिमाण र बिक्रीको अभिलेख छानबिन गर्न माग गरेका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन