रौतहट, २६ साउन । नेपालमा रासायनिक मलको अभाव चर्किँदै जाँदा सीमावर्ती नेपाली किसान भारतबाट मल ल्याउन बाध्य छ तर, भारतबाट मल ल्याउने क्रममा किसान पक्राउ पर्ने घटनाले सीमाक्षेत्रका किसानलाई थप त्रासमा पारेका छन् ।
सर्लाहीका दुई किसान तीन बोरा रासायनिक मल ल्याएको आरोपमा भारतमा पक्राउ परी ३८ दिन जेल बसेर रिहा भएको घटना सेलाउन नपाउँदै फेरी बाराका एक नेपालीसहित दुई जना भारतीय नागरिक युरिया मलसहित भारतीय सुरक्षाकर्मीको नियन्त्रणमा परेको घटनाबाट किसानहरुलाई निकै निरास बनाएको हुन् ।
भारतको बिहार स्थित मोतीहारी जिल्लाको आदापुर थाना क्षेत्रमा नेपालतर्फ युरिया मल ल्याउँदै गरेको आरोपमा एक नेपाली सहित दुई जनालाई भारतीय प्रहरीले सोमबार पक्राउ गरेको छ ।
भारतीय पक्षका अनुसार नेपालतर्फ युरिया मल लैजान लागेको सूचना पाएपछि आदापुरका कृषि पदाधिकारी र स्थानीय प्रहरीको संयुक्त टोलीले औरैया गाउँ स्थित चमरहिया पोखरीनजिक निगरानी बढाएको थियो । सोही क्रममा साइकलमा युरिया मलका बोरा राखेर नेपालतर्फ जाँदै गरेका दुई जनालाई नियन्त्रणमा लिइएको बुझिाएको छ ।
पक्राउ पर्नेमा बाराको फेटा गाउँपालिका–जोधपुर गम्हरियाका सीताराम साहका छोरा किशोरी साह र भारतको पूर्वी चम्पारण जिल्लाको आदापुर थाना क्षेत्र लालाछपरा निवासी ब्रह्मा साह रहेका छन् ।
भारतीय पक्षले उनीहरूको साथबाट चार बोरा युरिया मल र दुईवटा साइकल बरामद भएको जनाए । पक्राउ परेका दुवै जनामाथि आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको छ ।
तीन बोरा मल ल्याउँदा ३८ दिन भारतीय जेल
यसअघि सर्लाहीको बलरा नगरपालिका–४ का ६० वर्षीय नागेन्द्रप्रसाद सिंह र ४२ वर्षीय सुरेशप्रसाद सिंह पनि मल ल्याउने क्रममा भारतमा पक्राउ परेका थिए । नेपालको स्थानीय बजारमा रासायनिक मल नपाएपछि उनीहरू सीमावर्ती भारतीय बजार सोनवर्षा पुगेका थिए । तीन बोरा युरिया र ६ बोरा डीएपी साइकलमा राखेर नेपाल फर्किने क्रममा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र कृषि विभागको संयुक्त टोलीले उनीहरूलाई असार १७ गते पक्राउ गरेर डुमरा जेल पठाएको थियो ।
मल खरिद गरेर नेपाल फर्किंदै गर्दा पक्राउ परेका उनीहरू ३८ दिन भारतीय कारागारमा बसेपछि दुई दिनअघि मात्रै रिहा भएका थिए । उक्त घटना सेलाउन नपाउँदै फेरी बाराका नेपाली किसान भारतमा पक्राउ परेको घटनाबाट किसानलाई राज्यबाट प्रदान गरिने सुविधाहरु कागज एवं भाषणमै सिमित रहदा किसानहरु अनाहकमा प्रताडित हुँदै आएको छ ।
किसानको प्रश्न– ‘नेपालमा मल पाइँदैन, भारतबाट ल्याउँदा पनि पक्राउ किन ?’
धानमा गोडमेल गरी मल हाल्ने मुख्य समयमा समेत सीमावर्ती क्षेत्रमा रासायनिक मलको अभाव कायमै छ । यतिबेला किसानलाई युरियालगायतका रासायनिक मलको अत्यधिक आवश्यकता छ ।
नेपालमै पर्याप्त मल उपलब्ध हुन नसक्दा सीमावर्ती किसान भारतीय बजारमा निर्भर हुनुपर्ने बाध्यता रहेको स्थानीय किसानहरूको गुनासो छ । यही बाध्यताका कारण भारतबाट मल ल्याउँदा पक्राउ पर्नुपर्ने अवस्था सिर्जना भएको उनीहरूको दुखेसो छ ।
कटहरिया नगरपालिका–४ का वडा अध्यक्ष तथा युवा नेता चन्दन कुशवाहाले मलको अभावमा बाध्य भएर भारतीय बजारबाट मल ल्याउने किसानहरु पक्राउ पर्नु दुःखद भएको बताए ।
उनका अनुसार किसानलाई आवश्यक मलखाद सहज रूपमा उपलब्ध गराउनु सरकारको दायित्व हो । सीमावर्ती किसानले भारतबाट मल ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न सरकारले तत्काल प्रभावकारी कदम चाल्नुपर्ने उनको भनाइ छ । कुशवाहाले नेपालमा मल सहज उपलब्ध गराउनुका साथै सीमावर्ती किसानको समस्या समाधान गर्न भारत सरकारसँग समेत समन्वय गरी मल ल्याउने प्रक्रिया सहज बनाउन पहल गर्नुपर्ने उनले माग उठाए ।
नेपाली प्रहरीलाई नै छैन पक्राउबारे जानकारी
जिल्ला प्रहरी कार्यालय वाराका प्रवक्ता डीएसपी मिनबहादुर घलेले नेपाली नागरिक किशोरी साह भारतमा पक्राउ परेको घटनाबारे आफूलाई जानकारी नभएको बताए ।
एकातिर नेपालमा मलको अभाव र अर्कोतिर भारतबाट मल ल्याउँदा पक्राउ पर्ने अवस्था सिर्जना भएपछि सीमावर्ती किसान थप समस्यामा परेका छन् ।
हुनपनि हो, भारत सरकारले आफना नागरिकलाई रासायनीक मलमा दिने गरेको अनुदानका मल तस्करीको माध्यमबाट नेपाल भित्रिने कार्य माथि कडाई गरेपछि यस्तो समस्या सृजना भएको बताइएको छ । किसानहरुका अनुसार खासै गुणस्तरिय रासायनिक मल नभएपनि बाध्यता बस खेती किसानी गर्नका लागि उक्त मल ल्याउनुपरेको त्यसमा पनि पक्राउ पर्ने डरत्रास पूर्ण वातावरणमा बाच्नु सीमावर्ती क्षेत्रका किसानहरुको अहिले दैनिकी भएको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन