रौतहट, ४ भदौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ३ वर्षीया बालिका गरिमा चौधरीमाथि यौनजन्य हिंसा र त्यसपछि भएको क्रुर घटनामा संलग्नलाई हदैसम्मको कानुनी कारबाहीको माग गर्दै रौतहटको चन्द्रपुरमा आज साँझ दीप प्रज्वलन कार्यक्रम आयोजना गरिएको छ ।
नवदीप युवा क्लब तथा समस्त चन्द्रपुरवासीको आह्वानमा बालिका गरिमा चौधरीको आत्माको शान्तिको कामना गर्दै न्यायका लागि दीप प्रज्वलन गर्न लागिएको हो । आयोजकका अनुसार कार्यक्रम आज साँझ ६ः३० बजे चन्द्रनिगाहपुर चोकस्थित पार्कमा हुनेछ ।
आयोजकले घटनामा संलग्न दोषीलाई कुनै पनि प्रकारको उन्मुक्ति नदिई कानुन बमोजिम कडा तथा हदैसम्मको कारबाही गर्नुपर्ने माग अघि सारेको छ । अबोध बालिकामाथि भएको घटनाले समाजलाई गम्भीर बनाएको भन्दै पीडित परिवारलाई न्याय दिलाउन सबै पक्ष एकजुट हुनुपर्ने आयोजकको भनाइ छ ।
दीप प्रज्वलन मार्फत बालिका गरिमा चौधरी प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै “न्यायका लागि आवाज उठाऔ, दोषीलाई कानुनी कठघरामा उभ्याऔ” भन्ने सन्देश प्रवाह गर्ने उद्देश्य राखिएको विश्वास लिएको छ ।
आयोजकले चन्द्रपुर तथा आसपासका नागरिक, युवा, सामाजिक अभियन्ता र न्यायप्रेमी सबैलाई कार्यक्रममा उपस्थित भई बालिकाको न्यायका लागि ऐक्यबद्धता जनाउन आह्वान गरे ।
चन्द्रपुरमा हुन लागेको दीप प्रज्वलन कार्यक्रमले बालबालिका माथि हुने हिंसा र यौन दुव्र्यवहारविरुद्ध सामाजिक खबरदारीको सन्देश दिने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन