रौतहट, ११ भदौं । नेपालमा आएको भीषण बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारका लागि भारतको हरिद्वारस्थित अखिल विश्व गायत्री परिवारले राहत तथा सेवा अभियान अघि बढाएको छ ।
बाढीपहिरोका कारण ठूलो जनधनको क्षति हुनुका साथै धेरै परिवार विस्थापित भएको हो । कतिपयले आफन्त गुमाएका छन् भने कतिपय परिवार घरबारविहीन बनेका हुन् ।
विपद्को यस्तो कठिन समयमा पीडित परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले हरिद्वारस्थित शान्तिकुञ्जबाट नेपालतर्फ राहत सामग्री पठाउने तयारी गरिएको छ ।
गायत्री परिवार प्रमुख श्रद्धेया शैल जीजी र उपाध्यक्ष डा. चिन्मय पण्ड्याको मार्गदर्शनमा शान्तिकुञ्जमा रहेका करिब ५० जना नेपाली कार्यकर्ता तथा स्थानीय गायत्री परिवारका सदस्य सम्मिलित सेवाभावी टोली प्रभावित क्षेत्रमा जाने तयारीमा जुटेको बताइएको छ ।
टोलीले बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित परिवारलाई त्रिपाल, खाद्यान्न, आवश्यक औषधि तथा दैनिक उपभोग्य सामग्री वितरण गर्ने जनाए । विशेषगरी घरबारविहीन भएका परिवारलाई अस्थायी आश्रयका रूपमा त्रिपाल उपलब्ध गराउने तथा संकटमा रहेका परिवारलाई खाद्यान्न र औषधि उपलब्ध गराउने तयारी गरिएको छ ।
परिवारले राहत अभियानलाई परमपूज्य गुरुदेव पण्डित श्रीराम शर्मा आचार्य र वन्दनीया माताजी भगवतीदेवी शर्माले अघि सारेको सेवा, करुणा तथा लोकमंगलको भावनासँग जोडेको छ ।
मानव सेवामै अध्यात्मको सार्थकता रहेको सन्देशलाई व्यवहारमा उतार्दै विपद्का बेला पीडितको साथमा उभिनु आफ्नो दायित्व भएको गायत्री परिवारको भनाइ छ । भारत र नेपालबीच लामो समयदेखि कायम सांस्कृतिक, धार्मिक तथा आध्यात्मिक सम्बन्धलाई ध्यानमा राख्दै नेपाली नागरिकको दुःखमा साथ दिन राहत अभियान अघि बढाइएको परिवारले जनाए ।
शान्तिकुञ्ज, हरिद्वारबाट नेपालतर्फ अघि बढ्न लागेको यो राहत अभियानले विपद्को समयमा मानवीय संवेदना, सहकार्य र भारत–नेपालबीचको आत्मीय सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन