रौतहट, १४ भदौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोज तथा उद्धारका लागि भारतबाट आएको प्राविधिक तथा टनेल रेस्क्यु टोली चिलिमे पुगेको छ ।
भारतबाट हिजो नेपाल आइपुगेको उद्धार टोलीले आज चिलिमे पुगेर उद्धार कार्य सुरु गरेको हो । डाक्टर, प्यारामेडिक्स र सुरुङ इन्जिनियर सहित ११ सदस्यीय प्राविधिक टोली सुरुङ भित्रको अवस्था अध्ययन गर्न तथा उद्धारमा खटिएको छ ।
सँगै २२ सदस्यीय भारतीय सेनाको टोली पनि उद्धार कार्यमा परिचालन गरिएको छ । उद्धार टोलीले यसअघि हेलिकप्टर मार्फत चिलिमे र लाङटाङ क्षेत्रमा हवाई रेकी गरिसकेको थियो । अहिले टोलीले नुवाकोटको त्रिशूली र रसुवाको चिलिमे क्षेत्रलाई केन्द्रित गरी खोज तथा उद्धार अभियान अघि बढाएको छ ।
बाढी र पहिरोका कारण चिलिमे लगायत जलविद्युत् आयोजनाका सुरुङ भित्र बाक्लो लेदो, हिलो र ढुंगामाटो भरिएकाले उद्धारमा ठूलो चुनौती देखिएको मिडिया रिपोर्टमा उल्लेख छ ।
भारतीय विशेषज्ञ टोलीले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका ८२ सदस्यीय संयुक्त सुरक्षा टोलीसँग समन्वय गरी अत्याधुनिक उपकरणको प्रयोगबाट सुरुङ खुलाउने र फसेकाहरूको उद्धार गर्ने काम थालेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाए ।
भोटेकोशी र त्रिशूलीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट २२.१ मेगावाट क्षमताको चिलिमे जलविद्युत् आयोजनामा ठूलो क्षति पुगेको छ । आयोजनाका करिब २० जना कर्मचारी तथा कामदार सम्पर्कविहीन रहेको विवरण छ भने पावरहाउस र सुरुङ भित्र ६ देखि ८ जना कर्मचारी फसेको आशंका गरिएको छ ।
बाढीको लेदो र पहिरोले आयोजनाका भौतिक संरचना तथा सुरुङ मार्ग पुरिएपछि चिलिमेबाट हुने विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको छ । चिलिमे लगायतका आयोजना जोडिएको त्रिशूली–३ ‘बी’ हबको सबस्टेसनमा समेत क्षति पुगेपछि त्यस क्षेत्रको विद्युत् प्रसारण प्रणाली अवरुद्ध भएको छ । उद्धार टोली सँगै भारत सरकारले पोर्टेबल जेनेरेटर, खाद्यान्न, पानी शुद्धीकरण ट्याब्लेट र औषधि सहितका राहत सामग्री समेत नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । उद्धार तथा राहत अभियानलाई तीव्र पार्दै सुरुङभित्र फसेका कामदारसम्म पुग्ने प्रयास भइरहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन