रौतहट, १७ भदौं । कृष्ण जन्माष्टमी जस्तो पवित्र धार्मिक पर्वको नाममा अर्धनग्न नृत्य, अश्लील गीत तथा उच्छृंखल गतिविधि हुन नदिन स्थानीय युवाहरुले स्थानीय प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
गढीमाई नगरपालिका–८ वीरनगरा स्थित रामजानकी मठको प्रांगणमा कृष्ण जन्माष्टमीको अवसरमा हुने कार्यक्रममा अश्लील नाचगान तथा असामाजिक गतिविधि हुन सक्ने भन्दै स्थानीय राजनीतिकर्मी तथा समाजसेवी युवाहरूले जिल्ला प्रशासन कार्यालय गौरमा उपस्थित भएर प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन् ।
प्रजिअ दिनेस सागर भुसाललाई ध्यानाकर्षण पत्र स्थानीय युवा विवेक प्रसाद यादवले बुझाउदै पछिल्लो समय धार्मिक तथा सांस्कृतिक कार्यक्रमको नाममा अश्लील गीत बजाउने, अर्धनग्न नृत्य प्रदर्शन गर्ने, मदिरा सेवन गरी होहल्ला तथा झैझगडा गर्ने गतिविधि बढ्दै गएकोमा समाजिक सदभावमा खलल पुग्ने भएको हुँदा समयमै प्रशासनले उक्त कार्यप्रति गम्भीर बन्न माग गरिएको छ ।
यस्ता गतिविधिले धार्मिक पर्वको मौलिकता र सांस्कृतिक महत्वमा आँच पुग्नुका साथै महिला तथा बालबालिकालाई समेत असहज अवस्था सिर्जना गर्न सक्ने भन्दै तत्काल नियन्त्रणको लागि युवाहरुले माग गरेका छन् ।
जन्माष्टमीका अवसरमा आयोजना हुने मेला, महोत्सव तथा अन्य कार्यक्रमहरूमा अश्लील नाचगान र समाजमा अश्लीलता फैलाउने गतिविधि पूर्ण रूपमा निषेध गर्न प्रशासनसँग आग्रह गरिएको छ ।
त्यस्तै, सार्वजनिक स्थलमा मदिरा सेवन गरी होहल्ला गर्ने, झैझगडा गर्ने तथा शान्ति सुरक्षामा खलल पुर्याउने व्यक्तिमाथि कानुन बमोजिम कडा कारबाहीको माग गरे ।
पर्वलाई मर्यादित र शान्तिपूर्ण बनाउन सुरक्षाकर्मीको गस्ती बढाउनुका साथै संवेदनशील क्षेत्रमा विशेष निगरानी राख्न समेत प्रशासन समक्ष आग्रह गरे ।
प्रमुख जिल्ला अधिकारी भुसालले स्थानीय युवाहरुद्वारा हामीलाई ध्यानाकर्षण गराउने कार्यको सराहना गरे । धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र शान्ति सुरक्षा कायम राख्न हामी प्रहरीलाई निर्देशन दिएको तथा सूचना जारी गरी सम्भावित उच्छृंखल गतिविधि माथि पूर्ण रुपमा अंकुश लगाउन स्थानीय प्रशासन कटिबद्ध रहेको स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन