रौतहट, १९ भदौं । दुई महिनाअघि मात्रै प्रेम विवाह गरेकी रौतहटकी १८ वर्षीया सुमेदी कुमारी पटेल आफ्नै घरको भान्सा कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी छन् ।
उनको मृत्यु आत्महत्या नभई हत्या गरेर झुन्ड्याइएको हुनसक्ने आरोप माइती पक्षले लगाएपछि घटनाले गम्भीर प्रश्न उठाएका हुन् ।
रौतहटको देवाही गोनाही नगरपालिका–३ गोठटोलमा भदौ १७ गते बिहान ५ बजे सुमेदी घरको भान्सा कोठामा सालको पासो लगाई झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । बुहारीलाई झुन्डिएको अवस्थामा देखेपछि सासुले प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय देवाही गोनाहीले जनाए ।
गरुडा नगरपालिका–७ पिपरिया निवासी सुमेदीले गत असार १९ गते देवाही गोनाही–३ का २२ वर्षीय रौनक राज पटेलसँग परिवारको सहमति बिना प्रेम विवाह गरेकी थिइन् । विवाहपछि उनी रौनककै घरमा बस्दै आएकी थिइन् । तर, वैवाहिक जीवन सुरु गरेको दुई महिना नपुग्दै उनको रहस्यमय ढंगबाट मृत्यु भएको छ ।
घटनापछि सुमेदीका माइती पक्षले छोरीलाई विवाहपछि दाइजोका लागि दबाब, मानसिक तथा शारीरिक यातना दिने गरिएको आरोप लगाए । मृतकका बुवा लालबाबु पटेलका अनुसार रौनक, उनका बुवा सुभाष पटेल र बहिनीले ६ तोला सुन, मोटरसाइकल तथा नगद लगायतका सामग्री दाइजोमा माग गर्ने गरेका थिए ।
माइती पक्षको दाबीले माग अनुसार दाइजो दिन नसकेपछि सुमेदीमाथि कुटपिट तथा मानसिक यातना बढ्दै गएको थियो । यही कारण उनको हत्या गरी शव झुन्ड्याएर आत्महत्या गरेको देखाउन खोजिएको हुनसक्ने उनीहरूको आशंका छ ।
तर, माइती पक्षले लगाएको हत्या तथा दाइजो यातना सम्बन्धी आरोपको स्वतन्त्र पुष्टि भने भइसकेको छैन । सुमेदीको मृत्यु आत्महत्या हो वा अन्य कुनै कारणबाट भएको हो भन्ने विषय पोस्टमार्टम रिपोर्ट र प्रहरी अनुसन्धानबाट खुल्नेछ ।
घटनापछि सुमेदीको शव प्रादेशिक अस्पताल गौरमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टमपछि बिहीबार साँझ नै अन्त्येष्टि गरिएको प्रहरीले जनाए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी बसन्त गौतमले पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि मात्रै मृत्युको वास्तविक कारण यकिन हुने बताए ।
यता, इलाका प्रहरी कार्यालय गरुडाले माइती पक्षले रौनक सहितका व्यक्तिविरुद्ध कर्तव्य ज्यानसम्बन्धी जाहेरी दिन खोजेका थिए । तर पोस्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको प्रकृति अनुसार कानुनी प्रक्रिया अघि बढाउने सहमति भएपछि उनीहरू फर्किए ।
दुई महिनाको वैवाहिक जीवनपछि मृत्यु, उठ्यो गम्भीर प्रश्न
प्रेम विवाह गरेको दुई महिनामै सुमेदीको मृत्यु हुनु र त्यसपछि माइती पक्षले दाइजो तथा यातनाको आरोप लगाउनुले घटनालाई थप संवेदनशील बनाएको छ ।
अब प्रहरी अनुसन्धानले सुमेदीको मृत्यु हुनुअघिको घटनाक्रम, पारिवारिक सम्बन्ध, दाइजो सम्बन्धी विवाद, सम्भावित यातना र घटनास्थलको अवस्था लगायतका विषयमा सत्यतथ्य बाहिर ल्याउनुपर्ने देखिन्छ ।
मृतकका आफन्तले घटनाको निष्पक्ष छानविन तथा अनुसन्धान गरी मृत्युको वास्तविक कारण सार्वजनिक गर्न र दोषी देखिए कानुन अनुसार कडा कारबाही गर्न माग गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन