रौतहट, २५ भदौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारमाथि प्रतिनिधि सभामै विस्फोटक शब्द प्रहार गरेका छन् ।
उनले वर्तमान सरकारलाई ‘तासको पत्ता’ को संज्ञा दिँदै सरकारको कार्यशैली माथि गम्भीर प्रश्न उठाउदै विस्फोटक शब्द प्रहार गरेका हुन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै साँसद सिंहले सरकार गठन भए देखि नै मधेसी समुदाय माथि विभेद र प्रहार भइरहेको आरोप लगाए । उनले राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालमा भर्ना नपाएपछि एक विपन्न महिलाले फुटपाथमै बच्चा जन्माउनु परेको घटनालाई सरकारको सेवा प्रवाह र मधेसी प्रतिको व्यवहार सँग जोडेर तीव्र रुपमा असन्तुष्टि जनाए ।
आफूलाई बिहानै बबिता पासवानले फुटपाथमा बच्चा जन्माएको भिडियो देखाएको उल्लेख गर्दै सिंहले उक्त दृश्यले आफूलाई भावुक बनाएको बताए ।
“राज्य मधेसी प्रति कति पीडादायी छ ?” भन्दै उनले सरकार प्रति आक्रोश पोखे । मधेसी जनताको समर्थनबाट सरकार निर्माण भएको दाबी गर्दै सिंहले प्रधानमन्त्री शाहलाई मधेसी समुदाय माथि विभेद नगर्न चेतावनी समेत दिए ।
“तपाईं मधेसीको बलमा सरकार ठड्याउनु भएको छ, तपाईंको यो सरकार तासको पत्ता हो,” सिंहले प्रतिनिधि सभामै भने । सरकारले मधेसी जनताको लागि बर्दिबास मेडिकल बनाउने सपना तुहाएको आरोप लगाउँदै उनले सरकारका निर्णय तथा विभिन्न व्यक्तिको बर्खास्ती प्रति समेत प्रश्न उठाए ।
सिंहले प्रधानमन्त्रीका सल्लाहकारको कार्यशैली माथि गम्भीर आरोप लगाए । राज्यको स्रोतसाधन प्रयोग गरी जासुसी संस्था सँग भेटघाट गरिएको दाबी गर्दै उनले त्यसलाई राज्य सम्पत्तिको दुरुपयोग भएको बताए । उनले रसुवाको बाढीपछि उद्धार तथा राहतमा ढिलाइ भएको, किसानले मल नपाएको तथा शिक्षा र स्वास्थ्य क्षेत्रमा सरकारले अपेक्षित काम गर्न नसकेको आरोप पनि लगाए ।
न्यायालय र कर्मचारीतन्त्र अस्तव्यस्त बन्दै गएको दाबी गर्दै सिंहले प्रधानमन्त्रीको सचिवालय र सल्लाहकारको कार्यशैलीका कारण सरकार असफलता तर्फ अघि बढिरहेको टिप्पणी गरे ।
उनले सरकारलाई तत्काल आफ्नो कार्यशैली सुधार गर्न र मधेसी लगायत सबै नागरिकका समस्या गम्भीरता पूर्वक सम्बोधन गर्न आग्रह गरे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन