रौतहट, ३ असोज । रौतहटको वृन्दावन नगरपालिका–६ हर्षाहा स्थित प्राइम सिरेमिक्स प्रालिमा कार्यरत कर्मचारीद्वारा बलेरीका १८ बर्षीय युवक कुटपिटको शिकार बनेको गम्भीर आरोप लागेको छ ।
वृन्दावन नगरपालिका–१ बलेरीका १८ वर्षीय युवक विशाल पटेललाई शुक्रवार राति एक भोजमा डिजे साउण्डमा नाच्ने क्रममा विवाद भएपछि निजलाई प्राइम सिरेमिक्सका कर्मचारीले निर्घात कुटपिट गरेको हो ।
बलेरी निवासी चन्देश्वर राउतका छोरा सञ्जय पटेलको छोरा जन्मिएको खुशीको अवसरमा आयोजित साजन न्वारनको भोजमा प्राइम सिरेमिक्स प्रालिका केही कर्मचारी सहभागी भएका थिए ।
भोजमा खुशीयाली साटासाट गर्न डिजे बजिरहेका बेला नाच्ने क्रममा विवाद भएपछि युवक विशाल माथि कुटपिट भएको परिवारजनले जनाए । सञ्जय पनि प्राइम सिरेमिक्समा कार्यरत रहेको हुँदा उक्त भोजमा कम्पनीका जिम्मेवार कर्मचारीलाई बोलाएपछि उक्त घटना भएको बताइएको छ ।
विशालका हजुरबुवा बाबुलाल राउतका अनुसार विवाद बढेपछि प्राइम सिरेमिक्सका कर्मचारीहरू विशाललाई कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशालको चन्द्रनिगाहपुर स्थित चन्द्रनी मल्टी हस्पिटलमा उपचार भइरहेको उनले भने ।
विशालका दाइ विवेक पटेलले भोजमा सहभागी कम्पनीका कर्मचारीहरू मदिरा सेवन गरेर डिजेमा नाचिरहेका थिए । नाच्ने क्रममा चुरोट सेवन गरी शरीरमै फालेको विषयलाई लिएर विवाद सुरु भएको र पछि विवाद कुटपिटमा परिणत भएको उनले भने ।
निर्घात कुटपिटबाट घाइते विशालको अस्पतालमा उपचार भइरहेको छ । परिवारजनले घटनामा संलग्न भनिएका प्राइम सिरेमिक्सका अज्ञात कर्मचारीहरु विरुद्ध प्रहरीमा उजुरी दिने तयारी भइरहेको बताए ।
यता, घटनाबारे प्राइम सिरेमिक्स प्रालिका कर्मचारी वा कम्पनी व्यवस्थापनको आधिकारिक धारणा सार्वजनिक भएको छैन । प्रहरीमा उजुरी परेपछि घटनाको वास्तविक अवस्था तथा कुटपिटमा संलग्न व्यक्तिबारे थप विवरण खुल्ने पीडित परिवारले अपेक्षा गरेको बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन