विराटनगर, ८ असोज । सूचना प्रविधि (आईटी) कम्पनीमा वैदेशिक लगानी भित्रर्याउने अनुमति लिएर विराटनगरमा खुद्रा पसल सञ्चालन गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेको छ ।
विराटनगर स्थित सेन्ट्रल मलमा ‘योनो मार्ट’ सञ्चालन गर्दै आएका चिनियाँ नागरिक जिङ्सियान सिएलाई प्रहरीले पक्राउ गरेको हो । आईटी कम्पनीका नाममा लगानी भित्रर्याएर खुद्रा व्यापार सञ्चालन गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको विराटनगर प्रहरीले जनाए ।
जिल्ला प्रशासन कार्यालय तथा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालयको संयुक्त टोलीले बुधवार अनुगमनका लागि सेन्ट्रल मल पुगेको थियो । सो क्रममा चिनियाँ नागरिकले अनुगमन टोलीलाई अवरोध गरेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा शंकाष्पद देखिएको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
मोरङ प्रहरी प्रमुख कवित कटवालका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा भिसाको उद्देश्य समेत दुरुपयोग भएको देखिन्छ । उनका अनुसार ‘योनो मार्ट’ नेपाली नागरिकको नाममा दर्ता भए पनि यसको सञ्चालन चिनियाँ नागरिकले गर्दै आएकोमा झन् आशंका बढेको छ ।
अनुगमनका क्रममा व्यापारिक कारोबारमा बिल प्रयोग नगरेको समेत भेटिएपछि प्रशासनले मार्टलाई सिलबन्दी गरेको उनले भने ।
नेपालमा विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन अनुसार खुद्रा व्यापारमा विदेशी लगानी गर्न नपाइने व्यवस्था छ । तर, चिनियाँ समूहले काठमाडौंमा सूचना प्रविधि सम्बन्धी कम्पनी दर्ता गरी विराटनगरमा घरायसी सामग्रीको खुद्रा व्यापार सञ्चालन गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी श्रोतबाट बुझिएको छ ।
स्रोतका अनुसार उक्त समूहले २०८२ कात्तिक २३ गते ‘तोङ आईटी ग्रुप प्राइभेट लिमिटेड’ कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता गरेको देखिन्छ । कम्पनीले वार्षिक २४ वटा सफ्टवेयर उत्पादन गर्ने दाबी गरेको भनिए पनि आईटी सम्बन्धी काम नगरी चीनबाट घरायसी सामग्री आयात गरेर खुद्रा पसल सञ्चालन गर्दै आएको आरोप छ ।
विराटनगरको सेन्ट्रल मलमा ६ वटा सटरमा सञ्चालन भइरहेको ‘योनो मार्ट’ दोलखा, जिरीका धिरेन विकको नाममा दर्ता रहेको जनाइएको छ । प्रहरीका अनुसार विकलाई चिनियाँ समूहले औपचारिक रूपमा साझेदार देखाएर प्रयोग गरेको हुन सक्ने आशंका गरेका छन् ।
जिङ्सियान सिए नेपाल आउजाउ गर्दै आएका थिए र उनले २०२६ जुलाई २२ मा बिजनेस भिसा लिएका थिए ।
एसपी कटवालका अनुसार पक्राउ परेका चिनियाँ नागरिकलाई थप अनुसन्धानका लागि अध्यागमन विभागको जिम्मा लगाउने तयारी भइरहेको छ । घटनामा विदेशी लगानीको उद्देश्य, कम्पनीको वास्तविक कारोबार, भिसाको प्रयोग तथा मार्ट सञ्चालनमा संलग्न अन्य व्यक्तिको भूमिकाबारे सुक्ष्म अनुसन्धान भइरहेको उनले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन