एआई प्रविधिको सहयोगमा तयार पारिएका साँकेतिक ग्राफिक्स तस्वीर ।
रौतहट, ९ असोज । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकोमा आगामी केही समय मौसम बदलीसँगै वर्षाको गतिविधि उच्च रहने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीमा विकसित भएको बलियो न्यून चापीय क्षेत्र भारतको उत्तर आन्ध्र प्रदेश तथा दक्षिण ओडिशा आसपास रहेको हो ।
उक्त मौसम प्रणाली सुरुमा बलियो न्यून चापीय क्षेत्रकै रूपमा उत्तर–पश्चिमतर्फ सर्ने र त्यसपछि आगामी १२ घण्टामा उत्तर–उत्तरपश्चिम तर्फ सर्दै क्रमशः अघि बढ्दै कमजोर हुने सम्भावना रहेको महाशाखाले जनाए ।
हाल कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा बदली रहेको छ भने सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर अधिकांश बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका हिमाली भूभागका अधिकांश स्थानमा तथा सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भूभाग, कर्णालीका पहाडी भूभागका अधिकांश स्थानमा तथा मधेस प्रदेशका केही स्थान र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका केही स्थानमा चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाए ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र गण्डकी प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । मधेस प्रदेशका पनि एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाइएको छ । यसैगरी, मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना रहेको जनाए ।
राति पनि देशभर अधिकांश बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका अधिकांश स्थान तथा कोशी र बागमती प्रदेशका हिमाली भूभागका धेरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ ।
बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका अधिकांश स्थानमा तथा कर्णाली प्रदेशका पहाडी भूभागका अधिकांश स्थानमा पनि चट्याङ सहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाए ।
कोशी, मधेस र बागमती प्रदेशका पहाडी तथा तराई भूभागका केही स्थानमा समेत वर्षाको सम्भावना छ ।
रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्नेछ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना रहेको छ ।
मधेस प्रदेश तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा हावाहुरीको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन