लखनउ । भारतको उत्तर प्रदेश सरकारले जेवरमा निर्माण गरेको नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी ‘नरेन्द्र मोदी अन्तर्राष्ट्रिय विमानस्थल, नोएडा–जेवर’ राख्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।
मुख्यमन्त्री योगी आदित्यनाथको क्याविनेटको लखनउमा बसेको मन्त्रिपरिषद् बैठकले नाम परिवर्तन सम्बन्धी प्रस्ताव पारित गरेको हो ।
मुख्यमन्त्री आदित्यनाथले विमानस्थललाई भारतकै सबैभन्दा ठूलो एभिएसन हबका रूपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै यसले आगामी दिनमा उत्तर प्रदेशको अर्थतन्त्र, उद्योग, पर्यटन तथा अन्तर्राष्ट्रिय पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे ।
प्रदेशका अर्थमन्त्री सुरेश खन्नाका अनुसार मन्त्रिपरिषद्बाट प्रस्ताव स्वीकृत भएसँगै विमानस्थलको नाम परिवर्तन गर्ने औपचारिक प्रक्रिया अघि बढाइने छ ।
प्रस्ताव कार्यान्वयन भएमा जेवर विमानस्थल बहाल वाला प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा नामकरण हुने भारतको पहिलो विमानस्थल बन्ने दाबी गरिएको छ । यसअघि भारतका विभिन्न विमानस्थल पूर्वप्रधानमन्त्री तथा राजनीतिक व्यक्तित्वका नाममा राखिएका छन् ।
नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थल, लखनउको चौधरी चरण सिंह विमानस्थल र वाराणसीको लालबहादुर शास्त्री विमानस्थल यसको रुपमा उदाहरण हुन् ।
नाम परिवर्तनको निर्णयमा विपक्षीको विरोध
विमानस्थलको नाम परिवर्तन गर्ने प्रस्तावलाई लिएर भारतको मुख्य विपक्षी दल समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले आलोचना गरे । बलिया जिल्लामा सञ्चारकर्मीसँग कुरा गर्दै यादवले नाम परिवर्तनको राजनीतिमा लाग्नेहरूलाई जनताले सत्ताबाट हटाउने दाबी गरे ।
यससँगै विमानस्थलको नामकरण सम्बन्धी निर्णयले उत्तर प्रदेशको राजनीतिक वृत्तमा बहस समेत सिर्जना गरेको छ ।
दिल्ली विमानस्थलको विकल्पका रूपमा विकास
नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको शिलान्यास प्रधानमन्त्री मोदीले २५ नोभेम्बर २०२१ मा गरेका थिए । उपलब्ध विवरण अनुसार यसको पहिलो चरणको उदघाटन २८ मार्च २०२६ मा भएको थियो भने १५ जुन २०२६ देखि व्यावसायिक उडान सुरु भएको उल्लेख छ ।
उत्तर प्रदेशको जेवरमा अवस्थित यो विमानस्थललाई नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रूपमा विकास गर्ने योजना रहेको बताइएको छ । विमानस्थल सञ्चालन विस्तार सँगै यात्रु तथा हवाई कार्गो सेवा वृद्धि हुनुका साथै क्षेत्रीय आर्थिक गतिविधिमा समेत प्रभाव पर्ने अपेक्षा गरिएको छ ।
यद्यपि, नाम परिवर्तन सम्बन्धी मन्त्रिपरिषद्को निर्णयपछि आवश्यक औपचारिक प्रक्रिया पूरा हुन बाँकी रहेकाले प्रस्तावित नामको कार्यान्वयन अवस्थालाई अन्तिम निर्णयबाट पुष्टि गर्नुपर्ने हुन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन