पटना, २८ असोज । भारत बिहारको वैशाली जिल्ला स्थित राघोपुरमा गंगा नदी पार गर्ने क्रममा डुंगा पल्टिँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ ।
डुंगा दुर्घटनामा ज्यान गुमाउनेहरु मध्ये अधिकांश बालबालिका रहेको खबरबाट सिंगो गाउँनै शोकमा डुबेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार राति साढे ८ बजेको समयमा भोजमा सहभागी हुन गइरहेका २५ जना भन्दा बढी व्यक्ति एउटा सानो डुंगामा सवार थिए । तर गंगा नदी पार गर्ने क्रममा अचानक डुंगा पल्टिएपछि यात्रुहरू नदीमा खसेर डुबेको थियो ।
दुर्घटना लगत्तै घटनास्थलमा उद्धार तथा खोजी कार्य गर्न गोताखोर सहितको टोली परिचालन गरिएको सुरक्षा अधिकारीले जनाए । उद्धार गर्ने कार्यमा राज्य विपद् प्रतिकार्य बल (एसडीआरएफ) को टोली परिचालन गरिएको थियो ।
घाइतेहरु मध्ये सात जनालाई थप उपचारका लागि पटना मेडिकल कलेज तथा अस्पताल (पीएमसीएच) पठाइएको वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहले जानकारी दिए ।
बालबालिकाको मृत्युबाट गाउँ नै शोकमा
दुर्घटनामा ज्यान गुमाउने मध्ये अधिकांश ६ देखि १५ वर्ष उमेर समूहका बालबालिका रहेको बताइएको छ । प्रहरीले पिंकी, अंकिता, सुनीता, आर्यन, अलिशा, सिकी, भोणु र मीरा सहित केही मृतकको पहिचान खुलेको जनाए ।
सानो डुंगामा क्षमता भन्दा बढी यात्रु सवार थिए वा दुर्घटनाको अन्य कारण थियो भन्ने विषयमा सुरक्षा अधिकारीले आवश्यक अनुसन्धान गरिरहेको बताइएको छ ।
जिल्ला अधिकारीलाई घेराउ, प्रशासन विरुद्ध नाराबाजी
दुर्घटनापछि उद्धार व्यवस्थापन र प्रशासनको भूमिकालाई लिएर स्थानीय बासिन्दा आक्रोशित बनेका छन् । घटनास्थल पुगेकी जिल्ला अधिकारी वर्षा सिंहलाई स्थानीयले घेराउ गर्दै विरोध जनाएका थिए । उनीहरूले प्रशासनविरुद्ध नाराबाजी समेत गरेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।
ठूलो मानवीय क्षतिपछि राघोपुर क्षेत्रमा शोकसँगै आक्रोश पनि फैलिएको छ । घटनाले नदीमा सुरक्षित आवागमन र यात्रुको सुरक्षा सम्बन्धी व्यवस्था माथि गम्भीर प्रश्न उठेको छ ।
मृतक परिवारलाई ६ लाख भारतीय रुपैयाँ राहतको घोषणा
दुर्घटनापछि बिहार सरकारले मृतकका परिवारलाई जनही चार लाख भारतीय रुपैयाँ राहत दिने घोषणा गरे । त्यस्तै, भारतीय प्रधानमन्त्री कार्यालय (पीएमओ) का तर्फबाट मृतकका परिवारलाई जनही दुई लाख भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको विवरणमा उल्लेख छ ।
यस अनुसार मृतकका परिवारले दुवै स्रोतबाट गरी जनही ६ लाख भारतीय रुपैयाँ राहत पाउनेछन् । घाइतेलाई जनही ५० हजार भारतीय रुपैयाँ उपलब्ध गराउने घोषणा गरिएको पनि भारतीय सञ्चारमाध्यममा प्रमुखताका साथ खवर प्रकाशित गरिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन