सर्लाही, ८ कार्तिक । नेपाली कांग्रेसका नेताहरूले आगामी स्थानीय तह निर्वाचनमा सर्लाहीको गोडैता नगरपालिकामा पार्टीलाई विजयी बनाउन सक्ने उम्मेदवारलाई मात्रै टिकट दिन पार्टी नेतृत्व संग आग्रह गरेका छन् ।
विगतको निर्वाचनबाट पाठ सिक्दै भएका कमजोरीलाई सुधार गरेर स्थानीय नेता तथा कार्यकर्ताको सहमतिमा उम्मेदवार चयन गर्नुपर्ने उनीहरूले सुझाव दिएका हुन् ।
सर्लाहीको गोडैता नगरपालिका–१२ मा आयोजित पार्टीको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै कांग्रेस नेताहरूले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न एकता, सहमति र प्रभावकारी रणनीतिका साथ अघि बढ्नुपर्ने जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्वसभापति सुरेन्द्र प्रसाद सिंहले स्थानीय नेता तथा कार्यकर्ताको सहमतिका आधारमा उम्मेदवारको टिकट वितरण गरिने बताए । निर्वाचन जित्न सक्ने उम्मेदवारलाई प्राथमिकता दिइने स्पष्ट पार्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई अहिले देखि नै आ–आफ्नो तहबाट सक्रिय भई संगठन विस्तारमा जोड दिन आग्रह गरे ।
पूर्व विधायक तथा गोडैता नगर प्रमुखका प्रत्याशी उपेन्द्र प्रसाद कुशवाहाले विगतका निर्वाचनमा टिकट वितरणका क्रममा भएका कमजोरीका कारण पार्टीले पराजय भोग्नुपरेको स्वीकार गरे । आगामी निर्वाचनमा विगतका गल्ती सुधारेर अघि बढ्नुपर्नेमा जोड दिँदै उनले नगर प्रमुख पदमा आफ्नो उम्मेदवारीको दाबी सहित यसपटक आफूले जित हासिल गर्ने दाबी गरे ।
नेपाली कांग्रेसका नगर सभापति अरबिन्द पटेलको सभापतित्व तथा मधेस प्रदेशका पूर्वस्वास्थ्य मन्त्री वीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति सर्लाहीका सभापति कौशल किशोर सिंह, नेपाली कांग्रेसका केन्द्रीय सदस्य मनिष मिश्र, बलरा नगरपालिकाका पूर्वप्रमुख अभयप्रसाद सिंह, महिला नेतृ सुभद्रा देवी, गोडैता नगरपालिकाका सबै वडाका सभापति, पार्टीका नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन