इरानबाट हुने ग्यास आपूर्ति प्रभावित भएपछि पाकिस्तानमा खाना पकाउने एलपी ग्यासको हाहाकार हुँदा तीव्र रुपमा मूल्यवृद्धि भएको छ ।
केही दिनअघि सम्म ४ हजार ५०० पाकिस्तानी रुपैयाँमा पाइने १२ किलोको सिलिन्डरको मूल्य बढेर ७ हजार भन्दा माथि पुगेको हो । कतिपय क्षेत्रमा यसको मूल्य ८ हजार भन्दा माथि पुगेपछि सर्वसाधारण मारमा परेका छन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार, अक्टोबर १७ देखि पाकिस्तान र इरानबीचका दुई प्रमुख सीमा नाका बन्द भएको छ । पाकिस्तानले सुरक्षा चुनौती र तस्करी नियन्त्रणका लागि सीमा बन्द गरेको जनाए पनि इरानले प्राविधिक कारण देखाएको छ । सीमा बन्द हुँदा ग्यास आपूर्ति प्रभावित भई बजारमा चरम अभाव र मूल्यवृद्धि भएको बताइएको छ ।
पाकिस्तानले आफ्नो कुल एलपीजी आवश्यकताको करिब ५० प्रतिशत ग्यास इरानबाट आयात गर्दै आएका थिए । देशको कुल ग्यास आवश्यकताको करिब ७० प्रतिशत विदेशबाट आयात हुने भएकाले बाह्य आपूर्तिमा आएको अवरोधले बजारमा थप दबाब सिर्जना गरेको छ । होर्मुज जलडमरु क्षेत्रमा बढेको तनावले इराक र ओमानबाट हुने आयातमा समेत असर पारेको बताइएको छ ।
पाकिस्तानको तेल तथा ग्यास नियामक प्राधिकरण (ओग्रा) ले ११.८ किलोको घरेलु एलपीजी सिलिन्डरको मूल्य ३ हजार २९६ पाकिस्तानी रुपैयाँ तोकेको छ । तर, बजारमा उपभोक्ताले तोकिएको मूल्यभन्दा दोब्बरभन्दा बढी रकम तिर्नुपर्ने अवस्था देखिएको छ ।
एलपीजी एसोसिएसनका अध्यक्ष इरफान खोखरका अनुसार बलुचिस्तानमा १२ किलोको सिलिन्डर ७ हजार सम्म बिक्री भइरहेको छ । लाहोरमा यसको मूल्य ७ हजार ५०० र स्कार्दुमा ८ हजार २०० सम्म पुगेको बताए ।
यसैबीच, पाकिस्तानका पेट्रोलियम मन्त्री अली परवेज मलिकले सरकार आफैं एलपीजी आयात गरेर बजारमा आपूर्ति सहज बनाउने बताए । उनले आगामी दुईदेखि तीन दिनभित्र मूल्यमा सुधार आउने अपेक्षा व्यक्त गरे । उनका अनुसार एलपीजीको मूल्य प्रतिकिलो ४०० देखि ४२५ पाकिस्तानी रुपैयाँको दायरामा हुनुपर्ने भए पनि बढी मूल्य लिने व्यापारीमाथि कारबाही गरिने चेतावनी दिए ।
सीमा बन्द हुँदा पाकिस्तान–इरान सीमाको दुवैतर्फ एलपीजी ट्यांकर सहित सयौं ट्रक रोकिएका छन् । पाकिस्तानबाट इरानतर्फ पठाइएका आलु, केरा र चामल बोकेका एक हजारभन्दा बढी कन्टेनर समेत सीमामै अड्किएको बताइएको छ ।
ग्यास आपूर्तिमा आएको अवरोधसँगै दुई देशबीचको व्यापार समेत प्रभावित भएको छ । सीमा नाका कहिले खुल्ने भन्ने अनिश्चितताले पाकिस्तानमा ग्यासको मूल्य र आपूर्ति व्यवस्थापनमा थप चुनौती सिर्जना गरेको छ ।
(रोयटर्स सहित विभिन्न न्यूज एजेन्सीको सहयोगमा तराई टप ले तयार पारिएको समाचार हो ।)
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन