रौतहट, ९ कार्तिक । रौतहटको दुर्गा भगवती गाउँपालिका–३ मत्सरी स्थित प्रसिद्ध शक्तिपीठ दुर्गा मन्दिरमा पूजा आराधनापछि माता दुर्गाको प्रतिमा बागमती नदीमा विसर्जन गरिएको छ ।
दसैंको धार्मिक उत्सव सम्पन्न भएसँगै सोमबार बिहान भक्तजनले माता दुर्गालाई भावविह्वल हुँदै बिदाइ गरेका हुन् ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदा देखि विधिपूर्वक पूजा–आराधना गरी मनाइने दुर्गापूजा भव्यताका साथ सम्पन्न भएपछि कोजाग्रत पूर्णिमाको भोलिपल्ट प्रतिमा विसर्जन गरिएको छ ।
विसर्जनका क्रममा माताको सम्झनामा महिलाहरूले गाएका धार्मिक तथा भावनात्मक गीतले मत्सरी गाउँको वातावरण भक्तिमय र भावुक बनेको थियो । गीत गाउने महिलादेखि उपस्थित भक्तजन सम्मका आँखा रसाएका थिए ।
माता दुर्गाको प्रतिमालाई विभिन्न सवारीसाधनमा सजाएर मत्सरी गाउँको परिक्रमा गराइएको थियो । गाउँ परिक्रमा सम्पन्न भएपछि धार्मिक विधिअनुसार प्रतिमालाई बागमती नदीको पवित्र जलमा विसर्जन गरियो ।
प्रतिमा विसर्जन कार्यक्रममा सयौंको संख्यामा महिला, पुरुष तथा युवाहरूको सहभागिता रह्यो । श्रद्धा, आस्था र भक्तिभावका साथ सहभागी भएका स्थानीयवासीले माता दुर्गालाई बिदाइ गर्दै आगामी वर्ष पुनः आगमनको कामना समेत गरे ।
मत्सरी स्थित दुर्गा मन्दिर धार्मिक आस्थाको महत्वपूर्ण केन्द्रका रूपमा परिचित रहेको छ । यहाँ प्रत्येक वर्ष आयोजना हुने दुर्गा पूजाले स्थानीय धार्मिक परम्परा, सांस्कृतिक पहिचान र सामुदायिक एकतालाई जीवन्त बनाउँदै आएको छ ।
माता दुर्गाको प्रतिमा विसर्जन सँगै यस वर्षको दुर्गापूजा औपचारिक रूपमा सम्पन्न भएको छ । उत्सवको उल्लास सँगै मातालाई बिदाइ गर्दाको भावुक क्षणले मत्सरीवासीको मनमा अर्को वर्षको प्रतीक्षा समेत जगाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन