साँकेतिक तस्वीर मात्रै हो ।
प्रहरी हवलदार अनिरुद्ध यादवमाथि आर्थिक साँठगाँठको आरोप
बारा, १० कार्तिक । मधेश प्रदेशका आठ वटै जिल्लामा घुमुवा प्रहरीको आर्थिक चलखेलको रजगजमा रमाउदै छन् प्रमुखहरु ।
इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत प्रहरी हवलदार अनिरुद्ध यादव माथि तस्करीमा संलग्न रहेको आशंका गरिएका व्यक्तिहरूसँग आर्थिक साँठगाँठ गरेर अवैध कारोबारमा सघाएको तथा मालवाहक गाडीबाट रकम असुली गरेको गम्भीर आरोप लागेका छन् ।
प्रहरी तथा व्यापारिक स्रोतको दाबीअनुसार, करिब ७–८ महिनादेखि घुमुवा प्रहरीका रूपमा परिचालित यादवले सिमरा–पथलैया सडकखण्डमा सञ्चालन हुने विभिन्न ट्रान्सपोर्टका मालवाहक गाडीलाई चेकजाँच गर्ने बहानामा रकम उठाउने गरेको आरोप लागेका हुन् ।
बारा र पर्साका विभिन्न सीमावर्ती नाकाबाट भित्रिने भनिएका अवैध सामान सिमरा–पथलैया हुँदै काठमाडौँ, हेटौँडा, पोखरा लगायतका सहरमा ढुवानी हुने गरेको छ ।
यस्ता सामान बोकेका गाडीलाई सहज आवागमन गराउन आर्थिक लेनदेन हुने गरेको दाबी गरिएको छ । यद्यपि, यी आरोपहरुको स्वतन्त्र पुष्टि भएको छैन र सम्बन्धित निकायबाट आधिकारिक अनुसन्धानको विवरण सार्वजनिक भएको जानकारी प्राप्त भएको छैन ।
यस्तै, जितपुर, सिमरा तथा आसपासका क्षेत्रबाट ढुवानी हुने कपडा, बटर र खाद्यान्न लगायतका सामानको कारोबार सम्बन्धित व्यक्तिहरू सँग यादवले आर्थिक लेनदेन गर्ने गरेको आरोप स्रोतले लगाए । स्रोतले केही व्यक्तिहरूको नामसमेत उल्लेख गर्दै उनीहरू सँग कथित असुली तथा सहयोगको सम्बन्ध रहेको दाबी गरेको छ ।
यादवले कथित गतिविधि इलाका प्रहरी कार्यालय सिमराका प्रमुखको संरक्षण वा प्रभावमा रहेर गरेको आरोप समेत स्रोतले लगाए । कथित असुलीबाट प्राप्त रकम माथिल्लो तहसम्म पुग्ने गरेको आशंका पनि व्यक्त गरिएको छ ।
घुमुवा प्रहरीको भूमिका माथि प्रश्न ?
घुमुवा प्रहरीको प्रमुख जिम्मेवारी अपराध नियन्त्रण, गोप्य सूचना संकलन तथा अवैध गतिविधि माथि निगरानी गर्नु हो । यस्तो जिम्मेवारीमा खटिएका प्रहरी कर्मचारीमाथि नै तस्करीलाई सघाएको र चेकजाँचका नाममा रकम असुली गरेको आरोप लाग्नुले प्रहरीको कार्यशैली तथा निगरानी प्रणालीमाथि प्रश्न उठेको छ ।
यस विषयमा प्रहरी हवलदार अनिरुद्ध यादवसँग प्रतिक्रिया लिन सम्पर्क गर्ने प्रयास गरिए पनि सम्पर्क हुन सकेन । इलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा सम्बन्धित प्रहरी निकायको आधिकारिक धारणा पनि प्राप्त हुन बाँकी छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन