रौतहट, १२ कार्तिक । ट्यालेन्ट हन्टबाट छनोट भएर नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ मा आफ्नो प्रतिभा देखाइरहेका रौतहटका राहुल यादवले घातक बलिङ गर्दै जनकपुर बोल्ट्सलाई तेस्रो सिजनको पहिलो जित दिलाउन महत्वपूर्ण भूमिका खेलेका छन् ।
राहुलको उत्कृष्ट प्रदर्शनसँगै जनकपुरले बिहीबार भएको खेलमा काठमाडौं गोर्खाजलाई ८ विकेटले पराजित गरेका हुन् ।
काठमाडौंले प्रस्तुत गरेको ११५ रन बनाएर दिएको ११६ रनको लक्ष्यलाई जनकपुरले १७.२ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । जनकपुरको जितमा बलिङतर्फ राहुल यादव र ब्याटिङतर्फ मोइन अलीले प्रभावशाली प्रदर्शन गरे ।
रौतहटका राहुलले आफ्नो डेब्यु खेलको पहिलो बलमै विकेट लिएर क्रिकेटप्रेमी माझ चर्चा बटुलेका थिए । उनले दोस्रो खेलमा पनि आफ्नो उत्कृष्ट बलिङलाई निरन्तरता दिँदै काठमाडौं विरुद्ध ४ ओभरमा ३१ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए । उनको यही निर्णायक प्रदर्शनका कारण जनकपुरले काठमाडौंलाई कम स्कोरमै रोक्न सफल भयो ।
उत्कृष्ट बलिङका लागि राहुललाई खेलको ‘प्लेयर अफ द म्याच’ घोषित गरियो । ट्यालेन्ट हन्ट मार्फत छनोट भएका राहुलले छोटो समयमै आफ्नो क्षमता प्रमाणित गर्दै एनपीएलमा आफूलाई प्रभावशाली खेलाडीका रूपमा प्रस्तुत गरेका छन् ।
पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरका लागि यो जित प्रतियोगितामा पुनरागमन गर्ने महत्वपूर्ण अवसर बनेको छ । अर्कोतर्फ, काठमाडौं गोर्खाजले भने आफ्नो पहिलो खेलमै हार व्यहोरेको छ ।
राहुलको लगातार उत्कृष्ट प्रदर्शनले रौतहटको क्रिकेट क्षेत्रमा नयाँ उत्साह थपेको छ । स्थानीय स्तरबाट प्रतिभा पहिचान गरी राष्ट्रियस्तरको प्रतियोगिता सम्म पुगेका राहुलले आफ्नो बलिङ मार्फत जिल्लाको नाम उजागर गरेका छन् । उनको सफलताले रौतहटका युवा क्रिकेट खेलाडीलाई समेत ठूलो प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।
ट्यालेन्ट हन्टबाट एनपीएलसम्मको यात्रा तय गरेका राहुल यादवको प्रदर्शनले एउटा सन्देश दिएको छ—अवसर पाए स्थानीय प्रतिभाले पनि राष्ट्रिय मञ्चमा आफ्नो क्षमता प्रमाणित गर्न सक्नेछन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन