रौतहट, १३ कार्तिक । अर्नब चक्रवातको प्रभाव रौतहटसहित तराई–मधेशका विभिन्न जिल्लामा देखिन थालेको छ ।
चक्रवातको प्रभावका कारण बिहीबारदेखि नै मौसममा परिवर्तन आएको छ भने आकाशमा बाक्लो कालो बादल मडारिन थालेको हो । रातभर परेको सिमसिमे वर्षाले तराई–मधेशको जनजीवन प्रभावित हुनुका साथै मौसम चिसो र शीतल बनेको छ ।
मौसममा आएको अचानक परिवर्तन सँगै स्थानीय बासिन्दाले चिसो महसुस गर्न थालेका छन् । दिनभरजसो आकाश बादलले ढाकिँदा घाम देखिन सकेको छैन भने रातभर रुकिरुकि परेको वर्षाले वातावरण समेत चिसिएको छ । चक्रवातको प्रभाव अझै कायम रहने हो कि भन्ने चिन्ता स्थानीय बासिन्दामा देखिएको छ ।
यता, चक्रवातको प्रभावले सबैभन्दा बढी चिन्ता धानबाली भित्रर्याउने तयारीमा रहेका किसानलाई परेको छ । खेतमा धान पाकेर काट्ने तथा घरमा भित्रर्याउने समय चलिरहेका बेला मौसममा आएको प्रतिकूल परिवर्तनले किसानको चिन्ता बढाएको हो । लामो समयको मेहनत र लगानी पछि उत्पादन भएको धान बाली वर्षाका कारण भिज्ने, खेतमै झर्ने वा नष्ट हुने जोखिम बढेको भन्दै किसानहरू चिन्तित बनेका छन् ।
सम्भावित वर्षा र मौसम प्रतिकूलतालाई मध्यनजर गर्दै किसानहरूले बिहीबार दिनभर तथा रातिसम्म पनि धान काट्ने, झार्ने र घरभित्र सुरक्षित राख्ने कामलाई तीव्रता दिएका थिए । कतिपय किसानले राति अबेर सम्म खेतबाट धान उठाएर सुरक्षित स्थानमा राख्ने प्रयास गरेका थिए । मौसमले साथ नदिए वर्षभरको मेहनत खेर जाने डरले किसानहरूलाई आराम गर्ने फुर्सद समेत भएन ।
विशेषगरी कृषि पेसामा निर्भर रहेका ग्रामीण क्षेत्रका किसानका लागि यो समय निकै संवेदनशील मानिन्छ । धानबाली भित्रर्याउने मुख्य समयमा आकाशबाट झरीरहेको सिमसिमे वर्षाले उत्पादनमा क्षति पुर्याउन सक्ने भएकाले किसानहरू मौसमको अवस्थाबारे निरन्तर चासो राखिरहेका छन् ।
यसैबीच, चक्रवातको प्रभावका कारण हुन सक्ने सम्भावित वर्षा र मौसम परिवर्तनलाई ध्यानमा राख्दै किसानहरूले काटेर खेतमा राखेको धान सुरक्षित स्थानमा राख्न तथा भित्रर्याइसकेको धानलाई पानीबाट जोगाउन आवश्यक सावधानी अपनाउनुपर्ने देखिन्छ ।
वर्षभरको पसिना र लगानीबाट तयार भएको धानबाली भित्रर्याउने अन्तिम समयमा मौसममा आएको परिवर्तनले रौतहट सहित तराई–मधेशका किसानको चिन्ता बढाएको छ । एकातिर चक्रवातका कारण मौसम शीतल बनेको छ भने अर्कोतिर किसानका लागि यही मौसम पाकेको बाली जोगाउने चुनौती थपिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन