सर्लाही, १३ कार्तिक । चाँडपर्व नजिकिदै गरेको तिहार तथा छठ पर्वलाई लक्षित गरी भारतबाट अवैध रूपमा नेपाल भित्रर्याएको ठूलो परिमाणमा विस्फोटक पदार्थ (पटका) तथा कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।
मलंगवा नगरपालिका–१, भेडेहिया स्थित नेपाल–भारत सीमा क्षेत्रबाट सशस्त्र प्रहरीले करिब १५ लाख रुपैयाँ बराबरको पटका बरामद गरेको हो । त्यसैगरी, सोही स्थानबाट थप २ लाख ३५ हजार रुपैयाँ बराबरको कपडा बरामद गरेको बताइएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर १० गण हेडक्वार्टरको निर्देशनमा नेपाल–भारत सीमा दशगजा नजिकै रहेको देवनारायण यादव र योगेन्द्र यादवको घर तथा गोठमा पटका र कपडा लुकाइराखिएको अवस्थामा फेला पारेको सशस्त्र प्रहरीका एसपी अमरबहादुर खत्रीले बताए ।
सीमावर्ती उक्त क्षेत्रमा अवैध सामान लुकाइछिपाइ राखिएको प्राप्त जानकारी पश्चात सशस्त्र प्रहरीले संयुक्त रूपमा राति ९ बजेको समयमा छापा मारेको थियो । सीमा सुरक्षा गुल्म मलंगवा, नं. १० गण अगर्बा र बोर्डर आउट पोस्ट (बीओपी) खुटौनाबाट खटिएको ६२ जनाको संयुक्त प्रहरी टोलीले सम्बन्धित घर तथा गोठमा खानतलासी गरेर उक्त सामानहरु बरामद गरिएको एसपी खत्रीले भने ।
खानतलासीका क्रममा ठूलो परिमाणमा विभिन्न प्रकारका पटका तथा कपडा फेला परेपछि प्रहरीले नियन्त्रणमा लिएको एसपी खत्रीले जानकारी दिए । बरामद पटका र कपडाको बजार मूल्य १७ लाख ३५ हजार रहेको छ ।
सशस्त्र प्रहरीका अनुसार बरामद गरिएका कपडा आवश्यक अनुसन्धानको लागि भन्सार कार्यालय मलंगवामा बुझाउने तयारी भईरहेको एसपी खत्रीले जानकारी दिए ।
तिहार तथा छठ पर्व नजिकिएसँगै सीमावर्ती भारतीय बजारबाट विभिन्न प्रकारका विस्फोटक पदार्थ पटका अवैध रूपमा नेपाल भित्रिने सम्भावना बढ्ने भएकाले सीमामा निगरानी र सुरक्षा जाँच कडा पारिएको उनले भने । पटका पड्काउँदा आगलागी, जनधनको क्षति तथा वातावरणीय प्रदूषणको जोखिम रहने भएकाले अवैध विस्फोटक पदार्थको ओसारपसार र बिक्रीवितरण नियन्त्रण गर्न सीमावर्ती क्षेत्रमा निगरानी बढाइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन