नेपाल–भारत खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधि, तस्करी, मानव बेचबिखन तथा सीमापार अपराध नियन्त्रण गर्न दुवै देशका सुरक्षा निकायले निगरानी र सूचना आदानप्रदानलाई थप प्रभावकारी बनाउने सहमति गरेका छन् ।
सशस्त्र प्रहरी बल नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच काठमाडौंमा सम्पन्न १० औँ नेपाल–भारत समन्वय बैठकमा सीमा सुरक्षालाई प्रविधिमैत्री बनाउदै आधुनिक ‘स्मार्ट सीमा व्यवस्थापन’ प्रणाली विकास गर्ने विषयमा सहमति गरेका हुन् ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेल र भारतीय सशस्त्र सीमा बलका महानिर्देशक संजय सिंघलको नेतृत्वमा सम्पन्न बैठकले सीमा सुरक्षा सम्बन्धी विभिन्न रणनीतिक, अपरेशनल तथा कार्यक्षेत्र तहका विषयमा छलफल गर्दै सहकार्य विस्तार गर्ने निर्णय गरेको छ ।
बैठकमा अघिल्लो ९ औँ समन्वय बैठकका निर्णयहरूको प्रगति समीक्षा गर्दै सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि शीघ्र सूचना आदानप्रदान, संयुक्त गस्ती र नियमित समन्वयलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरियो ।
विशेषगरी दशगजा क्षेत्रको निगरानीका लागि सीसीटीभी जडान, प्रमुख सीमा नाकामा लगेज स्क्यानर तथा वाक–थ्रु मेटल डिटेक्टर राख्ने र दुवै देशले आ–आफ्नो भूभागमा ड्रोनको प्रयोग बढाउने विषयमा गहन छलफल भएको सशस्त्र प्रहरीका प्रवक्ता तथा डीआईजी नेत्रबहादुर कार्कीले जानकारी दिए ।
त्यसैगरी दशगजा क्षेत्रमा हुने अनाधिकृत खेतीपाती, अतिक्रमण तथा अवैध संरचना हटाउन संयुक्त प्रयास जारी राख्ने सहमति भए । सीमा स्तम्भहरूको नियमित मर्मत, सम्भार तथा पुनर्निर्माणका लागि बाउन्ड्री वर्किङ ग्रुप (बीडब्लूजी) र सर्भे अफिसियल्स कमिटी (एसओसी) का निर्णय अनुसार फिल्ड तहमा समन्वय बढाइने भएको छ ।
सीमापार आपराधिक सञ्जाल, अवैध तस्करी, मानव बेचबिखन, नक्कली नोट, लागुऔषध ओसारपसार तथा तेस्रो मुलुकका नागरिकको अनाधिकृत आवतजावत नियन्त्रणलाई पनि बैठकले प्राथमिकतामा राखेको छ । खुला सीमाको दुरुपयोग रोक्न सीमा नाकामा जाँच तथा कागजात प्रमाणीकरण कडा बनाउने, दशगजामा समन्वयात्मक गस्ती सञ्चालन गर्ने र शंकास्पद गतिविधिबारे तत्काल सूचना आदानप्रदान गर्ने सहमति भएको बताइएको छ ।
सामाजिक सञ्जालको दुरुपयोग तथा भ्रामक सूचनाले सीमा क्षेत्रको सुरक्षा र सामाजिक सद्भावमा पार्न सक्ने असरलाई ध्यानमा राख्दै दुवै सुरक्षा निकायबीच संस्थागत सहकार्य सुदृढ गर्ने निर्णय समेत गरिएको छ ।

बैठकले सीमा सुरक्षामा आधुनिक प्रविधिको प्रयोग सँगै सुरक्षा अधिकारीहरूको क्षमता अभिवृद्धि, विशेष तालिम तथा नियमित अध्ययन भ्रमणलाई पनि प्राथमिकता दिएको छ ।
प्राकृतिक विपद् व्यवस्थापनका लागि चितवनको कुरिनटार स्थित सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालयमा संयुक्त ‘स्विफ्ट वाटर रेस्क्यु एक्सरसाइज’ सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ ।
यसका अतिरिक्त वैधानिक यात्रुलाई सहज सेवा उपलब्ध गराउन सीमा नाकाहरूमा सहायता कक्ष (हेल्प डेस्क) विस्तार गर्ने, मैत्रीपूर्ण खेलकुद तथा अन्तर्राष्ट्रिय दिवस र प्रमुख चाडपर्वमा संयुक्त सांस्कृतिक कार्यक्रम आयोजना गर्ने सहमति भयो ।
बैठकमा नेपालका तर्फबाट सशस्त्र प्रहरी बलका उच्च अधिकृतसहित परराष्ट्र तथा गृह मन्त्रालय, नापी विभाग, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सहभागी थिए । भारतका तर्फबाट एसएसबीका उच्च अधिकारी, काठमाडौं स्थित भारतीय दूतावास तथा विदेश र गृह मन्त्रालयका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
सन् २०१२ देखि नेपाल र भारतमा पालैपालो आयोजना हुँदै आएको द्विपक्षीय समन्वय बैठकको ११ औँ संस्करण आगामी वर्ष भारतमा आयोजना गरिने निर्णय समेत भएको जनाइएको छ ।
१० औँ समन्वय बैठकका निर्णय कार्यान्वयनमा आए खुला सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण, सीमा व्यवस्थापनमा प्रविधिको प्रयोग र दुवै देशका सुरक्षा निकायबीचको समन्वय थप व्यवस्थित हुने अपेक्षा गरियो ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन