रौतहट, १७ कार्तिक । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित फेरिचेमा अवतरण गर्ने क्रममा दुई हेलिकप्टर एकआपसमा ठोक्किँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने दुवै हेलिकप्टरका पाइलटसहित तीन जना घाइते भएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार एयर डाइनेस्टीको हेलिकप्टर (नाइन एन–एओडी) लुक्लाबाट र फिस्टेल एयरको हेलिकप्टर (नाइन एन–एजेआर) गोरक्षेपबाट फेरिचे पुगेको थियो । आज बिहान ८ बजेर ११ मिनेटमा दुवै हेलिकप्टर अवतरण गर्ने क्रममा एकआपसमा ठोक्किएर उक्त दुर्घटना भएका हुन् ।
दुर्घटनामा परी भारतको तमिलनाडु राज्यको चेन्नईका ४७ वर्षीय वसन्तकुमार बलरामुडुको मृत्यु भएको प्रहरीले जनाए । दुर्घटनामा फिस्टेल हेलिकप्टरका पाइलट रविन्द्र प्रजापति, एयर डाइनेस्टीका पाइलट प्रजल केसी र भारतीय मूलका न्युजिल्यान्डका नागरिक ४९ वर्षीय सेलिशकुमार पटेल घाइते भएको बताइएको छ ।
घाइतेमध्ये पटेल र पाइलट प्रजापतिलाई प्रभु एयरको हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि ललितपुर स्थित मेडिसिटी अस्पताल ल्याइएको छ भने एयर डाइनेस्टीका पाइलट प्रजल केसीको लुक्ला स्थित निकोल निक्की अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाए । उनको स्वास्थ्य अवस्था सामान्य रहेको बताइएको छ ।
एउटै स्थानमा दुई हेलिकप्टर अवतरण गर्ने क्रममा भएको दुर्घटनाले सगरमाथा क्षेत्रको हवाई सुरक्षा माथि गम्भीर प्रश्न खडा गरेको छ । दुर्घटनाको वास्तविक कारणबारे भने थप अनुसन्धान जारी रहेको बताइएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन