रौतहट, १८ कार्तिक । खानेपानी संस्थान गौरमा दैनिक ज्यालादारीमा कार्यरत चौकीदार माथि मंगलवार राति ५ राउण्ड गोली प्रहार गरिदा गम्भीर घाइते भएका छन् ।
गएराति करिव साढे ८ बजेको समयमा गौर नगरपालिका–४ गढवा टोलस्थित खाने पानी ट्याङ्की कार्यालय भित्र स्कुटीबाट गइरहेको अवस्थामा पछाडीबाट गाली प्रहार गरिएका थिए । संस्थानमा कार्यरत स्थानीय २८ वर्षीय युवक राकेश यादवलाई पछाडीबाट गोली प्रहार गर्दा पिठ्युमा तीन र खुटामा दुई गोली लागेको थियो ।
गोली लागेपछि कर्मचारी यादव हल्ला गरेर गाउँले संग गुहार माग्दा गोली प्रहार गर्ने अज्ञात व्यक्त फरार भए । गाउँलेहरु जम्मा हुन थाले । गाउलेहरु नै प्रहरीलाई खवर गरे ।
यादव घाइते अवस्थामै खानेपानी ट्याङ्की कार्यालय हाता भित्र ढलेपछि मुख्य कार्यालयमा फोन गरेपछि त्यहाँबाट एक जना कर्मचारी बाईकमा ८.४१ मिनेटमा घटनास्थलमा पुगेर । निजलाई बाईकमै राखेर प्रादेशिक अस्पताल गौरमा उपचारको लागि ल्याइएको कर्मचारी दिलिप कुमार झाले जानकारी दिए ।
कर्मचारी झाले अत्यन्तै सोझो केटा भएको हुँदा निजको कसैसंग दुशमनी रहेको बारे आफूलाई थाहा नभएको जानकारी दिदै यी कुराहरु प्रहरी अनुसन्धानबाट खुलिने बताए ।
यादवलाई प्राथमिक उपचार पश्चात थप उपचारको लागि वीरगञ्जको बयोधा अस्पतालमा लगेर उपचार भईरहेको रौतहट प्रहरीका प्रवक्ता एवं डिएसपी बसन्त गौतमले जानकारी दिए ।
विरगञ्जको बयोधा अस्पतालका चिकित्सकहरुले शल्यक्रिया गरेर पिठ्युमा लागेका तीन गोली र खुट्टामा लागेका दुई गोली झिक्ने कुरा बुझिएको जानकारी दिदै डिएसपी गौतमले घाइतेको अवस्था मध्यम रहेको बताए ।
यता गोली प्रहार गर्ने अज्ञात समूहको खोजी कार्य जारी रहेको तथा गोली प्रहार गर्नुको कारण, घटनामा संलग्न व्यक्तिहरूको पहिचान गर्न प्रहरीले गहन अनुसन्धानलाई तिव्र बनाएको बताए ।
स्मरण रहोस, सादा पोशाकमा खटिने प्रहरी अपराधिक एवं गैरकानुनी क्रियाकलापको सुचना संकलन गर्नेहरु पनि जिम्मेवारीबाट विमुख हुन थालेपछि अपराधिक क्रियाकलाप रौतहटमा सलबलाउन थालेका छन् ।