एआईबाट तयार पारिएका साँकेतिक तस्वीर
रौतहट, २७ कार्तिक । तराई–मधेश सहितका विभिन्न स्थानमा धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचानसँग जोडिएको लोकआस्थाको महापर्व छठ आजदेखि विधिवत् रूपमा सुरु भएको छ ।
छठ पर्वको पहिलो दिन आज व्रतालुहरूले नहाय–खाय विधि पूरा गर्दै चारदिने कठोर व्रतको शुभारम्भ गर्दैछन् ।
कार्तिक शुक्ल चतुर्थी तिथीका दिन देखि मनाइने नहाय–खाय छठ पर्वको पहिलो तथा महत्वपूर्ण विधि हो । यस दिन व्रतालु महिला तथा पुरुषहरूले स्नान गरी शरीर र घरपरिवारलाई शुद्ध राख्दै चोखो र सात्विक भोजन ग्रहण गर्ने धार्मिक परम्परा छ । यससँगै सूर्यदेव र छठी माताको आराधना गर्ने चारदिने महापर्वको शुभारम्भ भएको छ ।
चार दिनसम्म विभिन्न धार्मिक विधि र परम्पराअनुसार मनाइने छठ पर्वको दोस्रो दिनलाई खरना भनिन्छ । यस दिन व्रतालुहरू दिनभरि निराहार तथा निर्जल व्रत बसेर साँझ विधिपूर्वक पूजा गर्छन् । पूजापछि दूध, सख्खर (मिठा) र चामलबाट तयार पारिएको खीर, केरा तथा अन्य फलफूल र मिष्ठान्न प्रसादका रूपमा ग्रहण गर्ने परम्परा छ । खरनाको प्रसाद ग्रहण गरेपछि व्रतालुहरू पुनः कठिन निर्जल व्रतमा बस्ने गर्छन् ।
पर्वको तेस्रो दिन अर्थात् षष्ठी तिथिमा व्रतालुहरू बाँसका ढाकी, नाङ्लो तथा अन्य भाँडामा ठकुवा, भुसुवा, केरा, उखु, नरिवल लगायतका पूजा सामग्री सजाएर नदी, पोखरी, तलाउ तथा जलाशय किनारमा पुग्छन् । अस्ताउँदै गरेका सूर्यलाई अघ्र्य अर्पण गर्दै श्रद्धा र भक्तिपूर्वक पूजा गर्ने गरिन्छ ।
यस्तै, पर्वको अन्तिम दिन सप्तमी तिथिमा बिहान उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गरिन्छ । त्यसपछि घाटमै छठी माताको कथा श्रवण तथा पूजापाठ गरी व्रत समापन गर्ने धार्मिक परम्परा रहेको छ ।
छठ पर्व सूर्यदेव र छठी माताप्रति आस्था, श्रद्धा तथा समर्पण प्रकट गर्ने विशिष्ट पर्वका रूपमा परिचित रहेको छ । परिवारको सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य तथा सन्तानको दीर्घायुको कामना गर्दै महिला तथा पुरुष दुवैले यो पर्व मनाउने गर्छन् ।
विशेषगरी रौतहट सहित मधेश प्रदेशका जिल्लाहरूमा छठ पर्वको विशेष रौनक देखिने गरिन्छ । यस पर्वले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, पारिवारिक एकता, आपसी भाइचारा र सांस्कृतिक पहिचानलाई समेत बलियो बनाउँदै आएको छ ।
छठ पर्वका अवसरमा नदी, पोखरी, तलाउ तथा विभिन्न जलाशयका घाटहरूलाई आकर्षक रूपमा सजाउने, सरसफाइ गर्ने र पूजाका लागि आवश्यक तयारी युद्धस्तरमा भईरहेको पाइएका छन् । जातजाति, धर्म तथा समुदायबीच आपसी सद्भाव र एकताको सन्देश दिने भएकाले छठ पर्वलाई तराई–मधेशको साझा सांस्कृतिक उत्सवका रूपमा मनाइने गरिन्छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन