सर्लाही, २७ कार्तिक । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको भीषण माइक्रोबस दुर्घटनामा परी चक्रघट्टा गाउँपालिकाका १३ जना स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले आज शुक्रबार सार्वजनिक शोक बिदा दिएका छन् ।
गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएका नागरिकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजन प्रति गहिरो समवेदना व्यक्त गरी पालिकाभरी आज संचालन हुने सबै सरकारी कार्यालयहरु बन्द रहने जनाइएका हुन् ।
गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा हस्ताक्षरित सूचनामा शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था बाहेक नियमित सेवा प्रवाह गर्ने कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालय लगायत गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको उल्लेख छ ।
शोक बिदाका दिन स्वास्थ्य संस्थाबाट उपलब्ध हुने आकस्मिक स्वास्थ्य सेवा भने नियमित रूपमा सञ्चालन हुने गाउँपालिकाले स्पष्ट पारे । यसका साथै दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको जारी सूचनामा उल्लेख छ ।
मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाले ज्यान गुमाए । इभी चालक कविलासी नगरपालिकाको गरेर १४ जनाको दुखद निधन भए । छठ पर्व मनाउन घर फर्किने क्रममा भएको यस दुःखद दुर्घटनाले सुन्दरपुर गाउँलाई गहिरो शोकमा डुबाएको छ ।
छठ पर्वको तयारी र पारिवारिक भेटघाटको उत्साहमा रहेका परिवारमा एकैपटक ठूलो विपत्ति आइलागेको क्षणमा गाउँभरी नै यस पर्वको रौनकता हराएको छ, खुसी साट्न घर फर्किंदै गरेका आफन्तको असामयिक निधनले गाउँभरि शोक र सन्नाटा छाएका छन् ।
एकै गाउँका १३ जनाको ज्यान जाने गरी भएको यस हृदयविदारक घटनाले चक्रघट्टा गाउँपालिका सहित सिंगो सर्लाही जिल्लालाई स्तब्ध बनाएका हुन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन