सर्लाही, ४ मंसिर । अपहरण गरी बन्धक बनाइएका एक युवकलाई सर्लाही प्रहरीले सकुशल उद्धार गरेको छ ।
अपहरणमा संलग्न रहेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको हो । घटनालाई अतिरञ्जित गर्ने अन्य दुई जनालाई समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले जारी गरेको प्रेस विज्ञप्तिमा गत कार्तिक २७ गते राति १० बजेको समयमा गोडैता नगरपालिका–९ का ३७ वर्षीय सुनील कुमार रायलाई कौडेना गाउँपालिका–२ स्थित फूलपरासीबाट अपहरण गरिएको थियो ।
बरहथवा नगरपालिका–५ का ३१ वर्षीय सन्तोष कुमार महतो सहितका४÷५ जनाको संख्यामा रहेका व्यक्तिहरुले दुईवटा मोटरसाइकलमा आएर सुनीललाई कुटपिट गर्दै जबर्जस्ती अपहरण गरी मोटरसाइकलमा राखेर बरहथवातर्फ लगेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाए ।
अपहरणमा परेका सुनीलका आफन्तले इलाका प्रहरी कार्यालय बरहथवामा जानकारी गराएपछि प्रहरीले तत्काल अनुसन्धान तथा खोजतलास सुरु गरेको जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
सोही क्रममा कार्तिक २८ गते बिहान ९ बजेको समयमा बरहथवा नगरपालिका–५ बस्ने राजकुमार महतोको घरमा सुनीललाई कोठाभित्र बन्धक बनाएर राखिएको अवस्थामा प्रहरीले फेला पारी सकुशल उद्धार गरेको थियो । प्रहरीले सोही स्थानबाट सन्तोषलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरे ।
अनुसन्धानका क्रममा अपहरणमा संलग्न अन्य व्यक्तिहरूको खोजी गर्ने क्रममा प्रहरीले सोही दिन बरहथवा नगरपालिका–९ स्थित दूध डेरी चोकबाट थप तीन जनालाई पक्राउ गर्न सफल भए ।
बरहथवा नगरपालिका–५ का ५४ वर्षीय बिश्वेश्वर महतो, २७ वर्षीय प्रमोद कुमार महतो, २५ वर्षीय अमित कुमार महतोलाई पक्राउ गरेका थिए । पक्राउ परेका चारै जनालाई अपहरण तथा शरीर बन्धक कसुरमा सर्लाही जिल्ला अदालतबाट म्याद थप गरी जिल्ला प्रहरी कार्यालय सर्लाहीले थप अनुसन्धान गरिरहेको जनाए ।
वैदेशिक रोजगारको विवादमा अपहरण, फिरौती मागेको खुलासा
सर्लाही प्रहरीका अनुसार घटनाको अनुसन्धान गर्दै जाँदा अपहरणमा परेका व्यक्ति र अपहरणमा संलग्न व्यक्तिहरूबीच वैदेशिक रोजगारी सम्बन्धी विवाद रहेको खुलेको छ । सोही विषयमा रहेको रकम जबर्जस्ती असुल गर्ने प्रयोजनका लागि अपहरण गरिएको अनुसन्धानबाट खुलेको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी बेदप्रसाद गौतमद्वारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख रहेको छ ।
अपहरणकारीहरु फिरौती माग गरी रकम तिर्ने क्रममा तीन लाख रुपैयाँ तथा गरगहना समेत लुटिएको भन्दै गलत सूचना दिई घटनालाई अतिरञ्जित गर्ने अन्य दुई जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको उनले भने ।
घटनालाई अतिरञ्जित गर्ने व्यक्तिहरूमा बरहथवा नगरपालिका–१२ का ४२ वर्षीय राम नारायण यादव र ४० वर्षीया निलम देवी रहेको छ ।
पक्राउ परेकाहरुलाई हिरासतमा राखेर थप अनुसन्धान जारी रहेको डिएसपी गौतमले जनाए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन