सर्लाही, ४ मंसिर । प्रधानमन्त्री बालेन्द्र शाहको मंसिर ७ गतेदेखि हुने दुई दिने भारतको राजकीय भ्रमणमा मोतिहारी–सर्लाही एलपीजी ग्यास पाइप लाइन निर्माणलाई प्राथमिकताका साथ उठाइने भएको छ ।
इन्धन तथा खाना पकाउने ग्यासको आपूर्ति प्रणाली सुरक्षित, सहज र व्यवस्थित बनाउने उद्देश्यले नेपालले उक्त परियोजना भारत सरकारको अनुदान सहयोगमा निर्माण गरिदिन प्रस्ताव पेश गर्ने तयारी गरेको हो ।
नेपाल आयल निगमका अनुसार सर्लाहीमा रहेको निगमको १४ बिघा जग्गामा ग्यास भण्डारण गृह र बोटलिङ प्लान्ट निर्माण गर्ने योजना छ । प्रस्तावित परियोजना अन्तर्गत १५ हजार टन क्षमताका तीनवटा विशाल भण्डारण ट्याङ्की, एकै पटक आठवटा ग्यास बुलेट भर्न र खाली गर्न सकिने आधुनिक टर्मिनल तथा दैनिक १५ हजार सिलिन्डर रिफिल गर्न सक्ने प्लान्ट निर्माण गरिनेछ ।
परियोजनाको अनुमानित लागत ११ अर्ब भारतीय रुपैयाँ अर्थात् करिब १७ अर्ब ६० करोड नेपाली रुपैयाँ रहेको निगमका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । उनका अनुसार यसका लागि उद्योग तथा परराष्ट्र मन्त्रालय मार्फत भारत सरकार सँग अनुदान सहयोग माग गरिएको छ । इन्डियन आयल कर्पोरेसन (आईओसी) सँग समेत समन्वय भइरहेको बताइएको छ ।
हाल नेपाल सँग आफ्नै स्वामित्वमा ग्यास ढुवानी गर्ने बुलेट नहुँदा भारतीय सवारी साधनमा निर्भर हुनु परेको छ । ग्यास ढुवानी शुल्क बापत मात्रै वार्षिक ६ अर्ब भन्दा बढी रकम बाहिरिने गरेको छ । प्रस्तावित परियोजना कार्यान्वयन भए कम्तीमा एक महिनाको खपत धान्ने ग्यास भण्डारण गर्न सकिने र आपत्कालीन अवस्थामा मुलुकको कुल खपतको १५ प्रतिशत ग्यास निगम आफैंले आपूर्ति गर्न सक्ने अपेक्षा गरिएको छ ।
ग्यास पाइपलाइन सँगै भ्रमणका क्रममा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइनको दोस्रो चरण, चितवन सम्म पाइपलाइन विस्तार, व्यापार तथा पारवहन सहजीकरण, सीमा पूर्वाधार र ऊर्जा आपूर्तिका विषय पनि प्राथमिकतामा रहने छन् ।
त्यस्तै, नेपाल–भारत व्यापार सन्धि पुनरावलोकन, नेपाली सिमेन्ट, प्लाइउड, जुत्ताचप्पल, जुट, चिया र अलैँचीको निर्यातमा देखिएका गैरभन्सार अवरोध हटाउने तथा भारतीय गुणस्तर मापदण्ड (बीआईएस) प्रमाणपत्र प्राप्तिको झन्झटिलो प्रक्रिया सहज बनाउने विषय पनि उठाइने भएको छ ।
प्रधानमन्त्री शाहको भारत भ्रमणमा ऊर्जा सुरक्षा, व्यापार विस्तार, पारवहन सहजीकरण र सीमा पूर्वाधारलाई केन्द्रमा राखेर नेपाल–भारत आर्थिक सहकार्यलाई थप मजबुत बनाउने विषयमा छलफल हुने छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन