रौतहट, ५ मंसिर । छोरा हराएको विषयलाई लिएर खोजी तथा उद्धार कार्यमा प्रहरीले तदारुक्ता देखाउने अपेक्षा साथ कन्ट्रोल कक्षमा फोन गर्दा सहकर्मीबाटै गालीगलौज र दुव्र्यवहार भएको आरोप सार्वजनिक भएपछि रौतहटमा एक प्रहरी हवल्दारमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाइएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोले सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेश प्रसाद यादव सँग फोन संवादका क्रममा अपशब्द प्रयोग गरेको अडियो सार्वजनिक भएपछि घटना विवादितमा रुप लिएको हो ।
छोराको खोजीका लागि फोन गरेका यादवले ‘जय नेपाल’ नभनेको भन्दै महतोले गालीगलौज गरेको आरोप छ । सामाजिक संजालमा उक्त अडियो सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी लक्ष्मण शाहीका अनुसार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । घटनाबारे यादवसँग पनि सोधपुछ गरिने र सार्वजनिक अडियोको विषयमा छानबिन भईरहेको बताए ।
प्रहरी कर्मचारीले आपत्कालीन अवस्थामा सहयोग माग्ने सहकर्मीमाथि नै दुव्र्यवहार गरेको आरोपले प्रहरी संगठन माथि मुस्कान सहितको प्रहरीको आचरण र जिम्मेवारी माथि प्रश्न उठाएको छ ।
यसैबिच मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रवक्ता एवं एसएसपी प्रभुप्रसाद ढकालद्वारा हस्ताक्षरित विज्ञप्तीमा भाइरल अडियो संवादमा भाषा, शब्द र शैली प्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको हुँदा प्रहरी नियमावली २०७१ को संशोधन सहित ती प्रहरी कर्मचारीलाई यहाँ तानेर आवश्यक कारवाही प्रक्रिया अगाडी बढाइसकेको बताइएको छ ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट