रौतहट, ६ मंसिर । रौतहटको सदरमुकाम गौरस्थित ऐतिहासिक राइस मिल्स परिसरमा आइतबार देखि ‘रौतहट एक्सपो २०८३’ औपचारिक रूपमा सुरु भएको छ ।
व्यापार, संस्कृति, मनोरञ्जन र समृद्धिलाई एकै ठाउँमा जोड्ने उद्देश्य सहित आयोजना गरिएको एक्सपोको गौर नगरपालिकाका नगरप्रमुख शम्भु साहले विधिवत् रुपमा उदघाटन गरेको हो ।
उदघाटन समारोहलाई सम्बोधन गर्दै नगरप्रमुख साहले रौतहटको व्यापार तथा व्यवसायलाई चलायमान बनाउँदै आर्थिक गतिविधि विस्तार गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
उनले कुनै समय आर्थिक तथा व्यापारिक गतिविधिमा अगाडि रहेको रौतहट पछिल्लो समय अपेक्षाकृत कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । समय र परिस्थिति अनुसार जिल्लाले विकासको गति लिन नसक्नु दुःखद भएको उल्लेख गर्दै उनले गौर नगरको समग्र विकासका लागि आफूले विभिन्न काम अघि बढाएको बताए ।
नगरप्रमुख साहले आफूले गरेका विकास निर्माणका कामको प्रत्यक्ष लाभ आगामी दिनमा नगरवासीले अनुभूति गर्ने विश्वास समेत व्यक्त गरे । राज्यको विभेदपूर्ण व्यवहारका कारण रौतहटसहित सीमावर्ती जिल्लाहरूको आर्थिक तथा विकासको अवस्था कमजोर बनेको उनको भनाइ थियो । यस्तो अवस्थालाई सुधार गर्दै जिल्लालाई पुनः आर्थिक रूपमा सबल बनाउन स्थानीय सरकार निरन्तर प्रयासरत रहेको उनले बताए ।
उदघाटन समारोहमा बौधिमाई नगरपालिकाका नगरप्रमुख प्रदीप यादव, गरुडा नगरपालिकाका नगरप्रमुख कन्थमणि प्रसाद कलवार, दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंह, पूर्व प्रदेशसभा सदस्य बाबुलाल साह कानु, नेकपाका केन्द्रीय सदस्य रेवन्त झा, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रदीप साह, निर्माण व्यवसायी संघका कोषाध्यक्ष विक्रान्त विक्रम नेपाल तथा पत्रकार प्रभातकुमार झाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
वक्ताहरूले रौतहट एक्सपोबाट जिल्लाको व्यापार, उद्योग, पर्यटन तथा सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्दै महोत्सवलाई भव्य, सभ्य र सफल बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको बताएका थिए ।
उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष रविन्द्रनाथ गोपालीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहको सञ्चालन एक्सपो आयोजक समितिका पदाधिकारी गौतम श्रेष्ठले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि तथा विशिष्ट अतिथिहरूलाई रौतहट एक्सपो २०८३ को मायाको चिनो निर्माण व्यवसायी संघका अध्यक्ष कृष्णदेव यादव र उद्योग वाणिज्य संघका अध्यक्ष गोपालीले संयुक्त रूपमा प्रदान गरेका थिए ।
रौतहट एक्सपो २०८३ ले स्थानीय उत्पादन, व्यापारिक कारोबार, उद्यमशीलता र सांस्कृतिक गतिविधिलाई प्रोत्साहन गर्दै जिल्लाको आर्थिक तथा सामाजिक पहिचानलाई थप उचाइमा पुर्याउने विश्वास आयोजकले लिएको नेपाल पत्रकार महासंघका सचिव समेत रहनु भएका सचिव श्रेष्ठले गरेको छ ।

