काठमाडौं, ९ मंसिर । प्राय सुन तस्करीमा चिनियाँ कनेक्सन भेटिने गर्दा नेपालमा सुन तस्करी पछिल्लो समयमा पुनः सलबलाउन थालेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ किलो ३४८ ग्राम पहेलोे ठोस पदार्थ सहित दुई चिनियाँ महिला पक्राउ परेपछि सुन तस्करीमा चिनियाँ कनेक्सन पुनः सलबलाउन थालेका हुन् ।
विमानस्थल सुरक्षा कार्यालयका अनुसार हङकङबाट क्याथे प्यासिफिकको उडानबाट नोभेम्बर २३ तारेखको राति ११ः१५ बजेको समयमा काठमाडौं आइपुगेका उनीहरूलाई भन्सार क्षेत्र नजिक शंकास्पद गतिविधि गरिरहेको अवस्थामा सुरक्षाकर्मीले नियन्त्रणमा लिएका थिए ।
प्रहरीले खानतलासी गर्दा प्लास्टिकमा बेरिएका गोलाकार आठ थान शंकास्पद वस्तु फेला पारेको जनाए ।
पक्राउ पर्नेमा चीनको ग्वाङडोङकी ४५ वर्षीया लिन लिना र ३५ वर्षीया लिन सिनपिङ रहेका छन् । लिन लिना को साथबाट प्याकेजिङ सहित १ हजार ३४० ग्राम तौल भएका पाँचवटा टुक्रा तथा लिन सिनपिङको साथबाट १ हजार ८ ग्राम तौल भएका तीनवटा टुक्रा बरामद गरिएको प्रहरी श्रोतबाट बुझिएको छ ।
विमानस्थलका अधिकारीहरूका अनुसार दुवै महिलाले उक्त पदार्थ शरीरमा लुकाएर भन्सार क्षेत्रबाट बाहिरिने प्रयास गरेका थिए । शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको छ ।
बरामद गरिएको पहेँलो अर्धठोस पदार्थ सुन नै हो वा अन्य कुनै धातु वा पदार्थ हो भन्ने यकिन भइसकेको छैन । यसको वास्तविक पहिचान, संरचना र मूल्य निर्धारण गर्न थप परीक्षण गरिने अधिकारीहरूले बताए ।