नयाँ दिल्ली, ७ मंसिर । भारतको दुईदिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाहले नयाँ दिल्लीस्थित महात्मा गान्धीको समाधिस्थल राजघाट पुगेर श्रद्धाञ्जली अर्पण गरे ।
भ्रमणको दोस्रो दिन सोमबार राजघाट पुगेका प्रधानमन्त्री शाहले महात्मा गान्धीको समाधिमा माल्यार्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका हुन् । त्यस अवसरमा उनले आगन्तुक पुस्तिकामा आफ्नो सन्देश समेत लेखे ।
आगन्तुक पुस्तिकामा प्रधानमन्त्री शाहले महात्मा गान्धी प्रति गहिरो सम्मान प्रकट गर्दै ‘करुणा नै सर्वोच्च शक्ति र निस्वार्थ सेवा नै साँचो नेतृत्व हो’ भन्ने भाव व्यक्त गरे ।
भगवान् गौतम बुद्धको जन्मभूमि नेपालबाट आएको सन्दर्भ जोड्दै उनले गान्धीको विरासतमा बुद्धले दिएको शान्ति, करुणा र मानवताको अमर ज्योति देखेको उल्लेख गरे ।
प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध साझा भूगोलमा मात्र सीमित नरहेको उल्लेख गर्दै दुई देश आस्था, आत्मीयता र चिरस्थायी मित्रताको सनातन विरासतबाट जोडिएको बताए ।
उनले गहिरो इमानदारी, पारस्परिक सम्मान र अटल विश्वासका आधारमा नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने नेपालको प्रतिबद्धता पनि पुनः व्यक्त गरेका छन् ।
राजघाटमा प्रधानमन्त्री शाहले व्यक्त गरेको सन्देशले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आध्यात्मिक सम्बन्धलाई थप महत्व दिएका छन् ।