रौतहट, ५ फागुन । प्रत्येक बर्ष बसन्त पञ्चमीको देखि रौतहटको गरुडा नगरपालिकामा एक महिना सम्म लाग्ने फर्निचर मेला सुरु भएको छ ।
बसन्त पञ्चमी देखि सुरु भएर शिवरात्री सम्म चल्ने मुलककै सवै भन्दा ठूलो फर्निचर मेला गरुडा नगरपालिकाको जयनगरमा सुरु भएको हो । जिल्लाको धार्मिक स्थलको रुपमा रहेका शिवनगर स्थित महादेव मन्दिरमा बसन्त पञ्चमी देखि सुरु हुने मेलाको अवसरमा फागुन ४ गतेबाट गरुडा नगरपालिका १ जयनगरमा काठबाट बनाइएका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला शुरु भएका छन् ।
यस पटकको मेलामा २२ करोड भन्दा बढीको कारोवार हुने मेला आयोजक समितिको लक्ष्य रहेको छ । दुई दशक भन्दा लामो समयदेखि वर्षेनी लाग्दै आएको फर्निचर मेलामा रौतहट बाहेक छिमेकी जिल्ला सर्लाही र बाराका काष्ठ मिस्त्री, ब्यवसायीले महिनौँ देखिको समय आ आफना घरमै लगाएर निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याएका छन् ।
साल, सिसम, टिक, मसला, आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध छन् । मेला झण्डै एक महिना भन्दा बढी सम्म चल्ने फर्निचर मेला आयोजक समितिका अध्यक्ष धिरेन्द्र यादवले बताए ।
मेलामा विक्रीका लागि राखिएको फर्निचर मेलामा बारा, पर्सा, मकवानपुर, रौतहट, सर्लाही, धनुषा, बाहेक सिमापारी भारतको ग्राहकहरु आउने गरेको अध्यक्ष यादवले भने । मेलामा स्थानीय तथा विभिन्न ठाउँबाट आएका मिस्त्रीहरुले फलामको कोदालो, हँसिया, कुटो, बञ्चरो खुकुरी लगातका सामग्रीहरु समेत निर्माण गरेर बिक्री गर्दछन् । जयनगर फर्निचर मेलामा गत वर्ष २१ करोड बराबरको कारोबार भएको मेला आयोजक समितिले जनाएको छ ।