रौतहट, २० साउन । नक्कली नेपाली नोट दिएर सामानहरु खरिद गरेको आरोपमा रौतहट प्रहरीले चार जना युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान कार्य सुरु गरेको छ ।
दुई दिन घघि नागपञ्चमीको अवसरमा बौधीमाई नगरपालिका ३ जिउताही टोलमा मेलामा सामान किन्ने क्रममा पसलहरुमा नक्कली नेपाली नोट दिएर ठगि गरेको भन्दै इलाका प्रहरी कार्यालय कोपवा पिपरियामा निवेदन दिएपछि तत्कालै प्रहरीले नोट दिने व्यक्ति वडा नम्वर ४ इनरवारीका जदुन्नदन राउतको २० बर्षिय छोरा सन्तोष पटेललाई नियन्त्रणमा लिई चेकजाँच गर्दा निजको साथबाट १ हजारको १ थान नक्कली नोट फेला परेको र मेलामा पसल गरी सामान बेच्ने व्यक्तिहरुबाट एक हजारको १९ थान जम्म गरी २० हजार नक्कली नोट फेला परेको थियो ।
प्रहरी नियन्त्रणमा रहेका पटेल संग अनुसन्धान गर्दै जाँदा रौतहटको बौधीमाई नगरपालिका वडा नम्वर ४ का शंकर दासको २९ बर्षिय छोरा देवनारायण दास, सोही स्थानका भविखन राय भाटको २२ बर्षिय छोरा फुल महमम्द र हफिज राय भाटको २४ बर्षिय छोरा नौसाद आलम भाटलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयको निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक दिनेश कुवरले जानकारी दिए ।
नक्कली नोट दिएर मेलामा समान खरिद गरेको आरोपमा पक्राउ परेकाहरुलाई खोटा चलन मुद्दामा म्याद थप गरेर आवश्वयक अनुसन्धान एवं कारवाही प्रक्रिया अगाडी बढाइएको उनले बताए ।