चन्द्रपुर, २२ साउन । चन्द्रपुर नगरपालिका अन्तर्गत चन्द्रपुर नगर उद्योग वाणिज्य संघको अध्यक्षमा उदयनारायण सापकोटा निर्विरोध रुपमा निर्वाचित भएको छ ।
गत शुक्रवार संघको भएको निर्वाचन प्रक्रियामा अध्यक्ष पदमा सापकोटाको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएको हो ।
चन्द्रपुर उद्योग वाणिज्य संघमा एक अध्यक्ष सहित १२ जना सदस्य मध्येबाट पदाधीकारी चुनिने र ४ जना मनोनित सहित १७ जनाको टिमले संघ चलाउने व्यवस्था रहेको निर्वाचन समितिका सदस्य सचिव सुमन गौतमले बताए । संघको सदस्य पदमा भने २७ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनका लागि साउन २८ गते शनिबारका समय तोकिएको चन्द्रपुर नगर उद्योग वाणिज्य संघ निर्वाचन समितिका संयोजक खड्गबहादुर तामाङले जानकारी दिए । लामो समयदेखि संघको निर्वाचन भएको थिएन । संघमा चन्द्रपुर नगर क्षेत्रमा व्यवसाय गर्ने २ हजार सदस्य रहे पनि ५ सय ९२ जनाले मात्र नविकरण गरेका छन् ।