तराई टप संवाददाता
धनुषा, ८ फागुन । आफनै श्रीमतीलाई एसिड प्रहार गर्ने व्यक्तिलाई साढे १५ बर्ष कैद सजायको माग सरकारी वकिलको कार्यालयले गरेको छ ।
कात्तिक २९ गते लक्ष्मी पूजाको दिन बिहान सञ्जीव साहले जनकपुरधाम वडा नम्बर ७ मा डेरा लिएर बस्दै आएको श्रीमती आरती साहमाथि एसिड प्रहार गरेका थिए । एसिड प्रहारबाट आरती सहित ३ वर्षीया छोरी रिया साहको समेत हात र टाउको केही भाग जलेको थियो ।
आरतीको अनुहार करिब ३० प्रतिशत जलेको छ । सञ्जीवले श्रीमति माथि एसिड प्रहार गरेकाले १५ वर्ष ६ महिना जेल सजायको माग गरिएको सरकारी वकिल कार्यालय धनुषाले जनाएको छ । न्यायाधिवक्ता सीताराम अर्यालले आरोपित सञ्जीव विरुद्ध आफ्नो श्रीमती माथि एसिड प्रहार गरी अंगभंग गरेको कसुरमा ५ वर्ष, शरीर कुरूप बनाएको कसुरमा ८ वर्ष र एकीकृत कसुरमा २ वर्ष ६ महिना गरी जम्मा १५ वर्ष ६ महिना कैद सहितको अभियोग दर्ता गरिएको जानकारी दिए ।
आरोपितबाट उपचार खर्च र क्षतिपूर्ति समेत माग दावी गरिएको उनले बताए । पीडित आरतीको मुद्दामा धनुषा जिल्ला अदालतमा फागुन १९ गते बकपत्रको मिति तोकिएको प्रदेश सरकारको तर्फबाट निःशुल्क कानुनी सहयोग गरिरहेकी प्रदेश कानुन सहायता अधिकृत रिन्कुकुमारी यादवले जानकारी दिए ।