६ लाख घुस सहित सिमराको मालपोत कार्यालयको निमित्त प्रमुख सहित २ पक्राउ

तराई टप संवाददाता
बारा, ८ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाण्डौको टोलीले बाराको सिमरा स्थित मालपोत कार्यालयको निमित्त प्रमुख सहित दुई जनालाई ६ लाख घुस सहित पक्राउ गरेको छ ।
मालपोत कार्यालय सिमराको निमित्त प्रमुख नायब सुब्बा मनोजकुमार खनाल र लेखापढी कानुन व्यवसायी बद्रीप्रसाद बडाल पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग काठमाडौंको टोलीले निमित्त प्रमुख खनाललाई अमलेखगञ्जमा रहेको जर्गा होटलबाट ६ लाख घुसको रकम पक्राउ गरेका छन् ।
‘सेवाग्राहीले खरिद गर्न लागेको जग्गा श्रम विभागबाट रोक्का छ’ भनी सर्जमिन मुचुल्का गरी सिफारिस पठाइ फुकुवा गर्ने प्रक्रिया मिलाई फास्ट ट्रयाकबाट पास गराइदिने भन्दै उनले सेवाग्राहीसँग रकम माग गरेपछि पिडितले अख्तियारमा उजुरी गरेको थियो ।
६ लाख रकम लिइसके पछि रकमसहित रंगे हात उनीहरुलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद सिलवालले जानकारी दिए ।