सर्लाही, ३१ साउन । सर्लाहीको बरहथवाबाट ठूलो परिमाणमा रकमसहित दुई जनालाई मंगलबार पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख रुपैयाँ नगद र २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम सुनको गरगहनासहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएका हुन्।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण–२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायव उपरीक्षक एवम प्रहरी प्रवक्ता विजय यादवले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक यादवका अनुसार प्रदेश ०२–०३३ प ७७५० नम्बरको मोटरसाइकल सहित उनीहरुलाई रोकेर खानतलासी गरिएको थियो । प्रहरीले खनतलासी गर्दा उनीहरुको साथबाट सो सामान र नगद नियन्त्रणमा लिएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।