रौतहट, १२ भदौं । रौतहट जिल्लाको चन्द्रपुर नगरपालिकाको नुनथर स्थित धार्मिक पर्यटन स्थलको रुपमा विकसित गराउदै आन्तरिक पर्यटनलाई आकर्षित गर्नका निमित्त पिंग जडान गरिएको छ ।
मधेश प्रदेशकै धार्मीक तथा पर्यटकिय स्थल नुनथरमा यतीबेला स्थानीय तथा वाह्य पर्यटक तान्नका लागि ठूलो पिंग सहितका विभिन्न कामहरु धमाधम भइरहेको हो । बागमती खोला माथि हालिएको सो पिङको मजा लिनका मधेश प्रदेशका बिभिन्न जिल्लाबाट मान्छेहरुको घुइचो लाग्न थालेका छन् ।
यहाँ भन्दा पहिला हेटौडा, पोखरा र बाग्लुङमा मात्र रहेको सो पिङ एक महिना पहिला रौतहटको चन्द्रपुर नगरपालिका वडानं १ मा रहेको पर्यटकिय क्षेत्र नुनथरमास्थापना गरिएपछि नुनथरको आर्कषण बढ्दै गएको स्थानीयहरु बताउँछन् । साहसिक खेलका रुपमा लिईने जाइन्ट सुइन्ङ नामले समेत चिनिएको यो खेल संचालनका लागि नुनथरका स्थानीय युवाहरुले लगानी गरेका छन् ।
करिव तीस लाखको लागतमा संचालनमा आएको सो पिङ खेल्नका लागि सिन्धुली, जनकपुर, पर्सा, वारा, लगायत भारतको बिभिन्न स्थानबाट मान्छेहरु आउने गरेको संचालक नारायण थापा मगरले बताए । साहसिक खेलका रुपमा रहेको यो पिङका कारण नुनथरको आर्कषर्ण बढदै गएको स्थानीय युवा तथा पिङ संचालक सुवास मुर्गाछाने मगरको बताए ।