चर्को शुल्क लिएकोमा जुद्ध माध्यमिक विद्यालय गौरमा तालाबन्दी

तराई टप संवाददाता
रौतहट, १७ फागुन । अनाधिकृत रुपमा चर्को शुल्क किन लिएको विद्यालय प्रशासन संग सोध्न गएका विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोप लगाउदै जुद्ध माध्यमिक विद्यालयमा विद्यार्थीहरुले तालाबन्दि गरेका छन् ।
मुलुककै चौथो जेठो विद्यालय जुद्ध माध्यमिकमा ११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीहरु संग नेपाल सरकार शिक्षा मन्त्रालयले निर्धारण गरेको भन्दा बढि अनाधिकृत रुपमा शुल्क लिएको विषयलाई लिएर भएको विवादमा विद्यार्थीहरुलाई अभद्र व्यवहार गरेपछि आक्रोशित विद्यार्थीहरुले विद्यालय प्रशासनमा तालाबन्दि गरेका हुन् ।
जुमावीले प्रत्येक विद्यार्थीहरु संग नामाँकन शुल्क ३००, मासिक शुल्क ३०० सयको महिना, विद्यार्थी कल्याण कोष शुल्क ५०, आन्तरिक परिक्षा शुल्क १७५, बार्षिक शुल्क ४००, स्थानीय शुल्क १००, प्रयोगात्मक शुल्क १००, प्रवेश पत्र शुल्क ५०, टेष्ट शुल्क २००, परीक्षा व्यवस्थापन शुल्क १०० गरी पाँच हजार ५० रुपैया शुल्क लिएको विरुद्ध आक्रोशित विद्यार्थीहरुद्धारा विद्यालयमा तालाबन्दी गरिएको अनेरास्ववियुको केन्द्रीय सचिवालय सदस्य रबी मिश्राले बताए ।
सचिवालय सदस्य मिश्रले शिक्षा ऐन अनुसार कक्षा ११ मा ४०० र कक्षा १२ मा ५०० रुपैया दस्तुर लिने प्रावधान भएपनि जुमावीको प्रधानाध्यापक, विद्यालय प्रशासनको मिलिभगतमा विद्यार्थीहरु संग अनाधिकृत रुपमा चर्को शुल्क लिने विद्यालय प्रशासन एवं प्रधानाध्यापक विरुद्ध कारवाहीको माग समेत उनले गरे ।
जुमावीमा विद्यार्थीहरुले ताला लगाएपछि गौर नगरपालिकाको मेयर अजयकुमार गुप्ता सहित विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समितिको अध्यक्ष राकेश झा तथा अनेरास्ववियूका सचिवालय सदस्य मिश्र विद्यार्थी नेताहरु विच छलफल भई शिक्षा ऐनले तोके भन्दा बढि शुल्क नलिने सहमती भएको बताइएको छ । सहमती पछि करिव ६ घण्टा पश्चात विद्यालयमा लागेको ताला खुलेका छन् ।