सदगरु जग्गी वासुदेवको माटो जोगायौं अभियानलाई नेपाल सरकारले सहयोग गर्ने प्रतिबद्धता

177 Shares

माटो जोगाउ, सभ्यातालाई संरक्षण गरौं मुल नारा सहित विश्वप्रसिद्ध सदगरु जग्गी वासुदेवको माटो जोगायौं अभियानलाई नेपाल सरकारले सकारात्मक रुपमा लिदै प्रतिबद्धता जनाउने भएको छ ।
विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (सेभ स्वायल) अभियान अन्तर्गत नेपाल सरकारसँग यही भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ।
नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (कन्सियस प्लानेट) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो।
माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभरहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो।
माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउ योग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको बताइएको छ।
माटोको विनाशको सङ्कटलाई सबैसामु छर्लङ्ग पार्नको लागि सद्गुरुले गत मार्चमा २७ राष्ट्रहरूमा १०० दिने यात्रा शुरु गरेका थिए। यात्राको शुरुवातदेखि ८० राष्ट्रहरूले माटो जोगाऔँ अभियानलाई समर्थन गरेका छन्।
६ क्यारिबियन राष्ट्रहरू, अजरबैजान, युएई लगायतका राष्ट्रहरूले माटो जोगाउन सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर समेत गरिसकेका छन् भने पर्यावरणीय कार्यको नेतृत्व गरिरहेका अन्तर्राष्ट्रिय संस्थाहरू जस्तै कि आयूसीएन (आईयूसीएन) संयुक्त राष्ट्रसङ्घका संस्थाहरू यूएनसीसीडी डब्लुएफपी तथा अन्य संस्थाहरू पनि यस अभियानसँग साझेदारी गर्न अग्रसर भएका छन्।
उक्त दिन साँझ ६ः३० बजेदेखि गोदावरी सनराइज सम्मेलन केन्द्रमा हुन गइरहेको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर कार्यक्रममा सद्गुरुले तत्काल माटो जोगाउन किन आवश्यक छ भन्नेबारे प्रवचन दिने कार्यक्रम समेत रहेको छ। नेपालमा आयोजना हुने उक्त माटो जोगाऔँ अभियानको कार्यक्रममा नेपाल सरकारका विभिन्न मन्त्रालय अन्तर्गतका मन्त्रीहरू तथा ५००० भन्दा बढी मानिसहरू उपस्थित हुने आयोजकको अपेक्षा रहेको छ।
विश्वभर माटो विनाश भइरहेको विषयप्रति तत्काल सबैको ध्यान आकर्षित हुनुपर्ने कुराको प्रचार प्रचार आफ्नो सामाजिक दायित्व भएको भन्दै नेपाल नेटवर्क टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने तयारी रहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार