तराई टप संवाददाता
चन्द्रपुर(रौतहट), १७ फागुन । रौतहटको चन्द्रपुरमा सोमवार एक दिने निशुल्क आँखा शिबिरको आयोजना गरिएको छ ।
गरिव, विपन्न वर्ग तथा वृद्धवृद्धाहरुलाई अस्पताल सम्म पुग्न नसक्ने आँखाको विरामीहरुलाई मध्यनजर गर्दै चन्द्रपुर नगरपालिकाको आयोजना र बर्दिबास आँखा अस्पताल, हिमालयन आई केयर फाउण्डेसन काठमाण्डौको प्राबिधिक सहयोगमा निशुल्क आँखा शिबिर संचालन गरिएको हो ।
सो आखा शिविरको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख रामचन्द्र चौधरीले उदघाटन गर्दै नगरवासीलाई सकेसम्मको सुविधा गाउँमै उपलब्ध गराउने उद्देश्यबाट आँखाको शिविर आयोजना गरिएको बताए ।
सो शिविरमा चन्द्रपुर, गुजरा, बृन्दावन, गरुडा, गढीमाइ, माधवनारायण नगरपालिका तथा छिमेकी जिल्ला मकवानपुरको बकैया गाउँपालिका सहितको विभिन्न स्थानबाट आएका करिव ६ सय जनाको आखाँ परिक्षण गरिएका छन् । जसमध्ये १२५ जना मोतिविन्दुको विरामीहरुलाई बर्दिवास आँखा अस्पतालका मुकुन्द पौड्यालले निशुल्क अप्रेसनको ब्यबस्था गरिने आयोजक समितिले जनाएको छ ।